आठबीसकाेटमा भूकम्पमा परी ४२ जनाको मृत्यु भएको शोकमा आज सार्वजनिक बिदा

खबर खुराक
१९ कार्तिक २०८०

रुकुम पश्चिम, १८ कात्तिक । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । शुक्रवार राती गएको भूकम्पमा परी नगरपालिकामा ४२ जनाको मृत्यु भएपछि त्यसको शोकमा नगरपालिकाले आज सार्वजनिक बिदा दिएको हो । त्यस्तै नगरपालिकाका कार्यालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने भएको छ । ठुलो मानवीय क्षतिसँगै भौतिक संरचनामा पनि ठुलो क्षति गरेकोले नगरपालिका शोकमा डुबेको र नगरवासीको मन विक्षिप्त भएको नगर प्रमुख रबि केसीले बताउनुभयो ।

शनिवार बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । यो कठिन परिस्थितिमा आआफ्नो ठाउँबाट राहत तथा उद्धार कार्यमा सहयोग गर्न उहाँले सबैलाई अनुरोध गर्नुभएको छ । भूकम्प पीडितको राहत तथा पुनर्स्थापनाका लागि नगरपालिकामा कार्यरत शिक्षक, कर्मचारी र जनप्रतिनिधिले एक एक महिनाको तलब नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय समेत भएको नगर प्रमुख केसीले जानकारी दिनुभयो । तत्कालका लागि मृत्यु भएका परिवारलाई २५ हजार दरले क्रिया खर्च उपलब्ध बनाउने नगर कार्यपालिका बैठकले निर्णय गरेको छ।

यसका साथै उप प्रमुख धनकुमारी शाहीको संयोजकमा ११ सदस्यीय विपद् क्षति लगत सङ्कलन मूल्याङ्कन समिति निर्माण गरिएको नगर प्रमुख केसीले जानकारी दिनुभयो । नगरपालिकामा मानवीय र भौतिक संरचनामा ठुलो क्षति पुगेकाले दातृ निकाय, सङ्घ संस्थालाई सहयोग गर्न नगरपालिकाले अपिल गरेको छ । शुक्रवार राती जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । सोही भूकम्पमा परि आठबीसकाेटमा ४२ जनाको मृत्यु भएको छ । पहिलो चरणको उद्धार कार्य सकिएको र आजबाट भने राहत वितरणको काम सुरु हुने नगरपालिकाले जनाएको छ ।