गुल्मीको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थल गर्जुरामा निर्माण भएको रेसुङ्गा पार्क सञ्चालनमा

खबर खुराक
११ माघ २०८० १५:०१

११ माघ, गुल्मी । गुल्मीको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रको गर्जुरामा निर्माण भएको रेसुङ्गा पार्क सञ्चालनमा आएको छ । रेसुङ्गा क्षेत्रसँगै गर्जुरामा पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित निर्माण भएको रेसुङ्गा पार्क लामो समयपछि सञ्चालनमा आएको हो ।

निर्माण कार्य सम्पन्न भएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकेको सो पार्क सञ्चालनमा आएको रेसुङ्गा नगरपालिकाका मेयर खिल ध्वज पन्थीले बताउनुभयो । उहाँले निरन्तरको प्रयासबाट बजेट निकासा गरी निर्माण व्यवसायीले पाउनु पर्ने सम्पूर्ण रकम झन्डै तीन करोड चुक्ता गरिएसँगै पार्क सञ्चालनमा आएको बताउनुभयो ।

समयमै निर्माणको काम सम्पन्न गरेको भन्दै सम्बन्धित निर्माण कम्पनीलाई धन्यवाद दिनुहुँदै मेयर पन्थीले पार्कको अवलोकन गरी भरपुर मनोरञ्जन लिन गुल्मीवासी लगायत सम्पूर्णलाई अपिल गर्नुभयो । पार्क सञ्चालनमा आएसँगै रेसुङ्गा नगरपालिकाको समुन्नतिको यात्रामा थप टेवा पुग्ने विश्वास लिएको उहाँले बताउनुभयो ।

पार्कभित्र भ्यूटावर, पीङ, पिकनिक ट्रस, फोटोग्राफी जोन, बच्चा बच्चीको लागि प्ले जोन, पिकनिक स्पोर्ट, शौचालय, टिकट काउन्टर, विभिन्न जनावरका आकृति देखिने फोहोर मैला फाल्ने डसबिन लगायत निर्माण गरिएको छ ।

३।९६ हेक्टर क्षेत्रफलमा फैलिएको रेसुङ्गा पार्क पाँच करोड ५९ लाख ५३ हजार ५०१ रुपियाँको लागतमा निर्माण भएकाे हो । पार्क निर्माणको लागि नागरिक उड्डयन मन्त्रालयको ७० प्रतिशत र रेसुङ्गा नगरपालिकाको ३० प्रतिशत लगानी रहेको छ ।

पार्क सञ्चालनको लागि रेसुङ्गा नगरपालिकाले तीन कर्मचारी खटाएको छ । पार्क प्रवेश शुल्क विदेशी नागरिकको लागि १०० रुपियाँ, नेपाली नागरिकको लागि ४० रुपियाँ र ज्येष्ठ नागरिक साथै विद्यार्थीको लागि २० रुपियाँ कायम गरिएको छ ।



प्रतिक्रिया