उच्च शिक्षाका लागि नेपालबाट हुँदै आएको आर्थिक बहाव रोक्नुपर्छ : प्रधानमन्त्री

खबर खुराक
३ फागुन २०८० १४:२५

३ फागुन, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताउनुभएको छ ।

भारतीय विश्वविद्यालय सङ्घ(एआइयु)उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवम् नेपाल–भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले बहुसङ्ख्यक युवा र उनीहरुसँग सम्बन्धित स्रोतहरु स्वदेशमै राख्न पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

“शिक्षाका लागि नेपालजस्ता मुलुकबाट ठूलो आर्थिक बहाव हुने गरेको छ । यो प्रवृत्ति अब उल्टो हुनुपर्छ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “हामीले विश्वव्यापी रूपमा अवसर खोज्नेहरुका लागि अनुकूल हुने वातावरण सिर्जना गर्नुपर्छ ।” उहाँले उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण बारेमा पुनः मूल्याङ्कन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

विश्वव्यापी शक्तिहरुले ल्याएका चुनौतीसँग शैक्षिक क्षेत्रले सङ्घर्ष गरिरहनुपरेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले उच्च शिक्षा र सीपका लागि ठूलो स्रोत लगाएका कारण उत्तरका विश्वविद्यालयमा विद्यार्थी र विद्वानहरु आकर्षित हुने पछिल्लो समयको प्रवृत्ति देखिएको बताउनुभयो ।

“उच्च शिक्षाको सन्तुलन विश्वव्यापीरुपमा उत्तरतिर झुकेको देखिन्छ,” प्रधानमन्त्रीले भन्नुभयो, “महँगाे बजेटका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई उत्तरका शैक्षिक प्रणालीहरूले आकर्षित गरे पनि यो अवस्था लामो समयसम्म यस्तो अवस्था नरहन सक्छ ।”

यसैगरी, प्रधानमन्त्री प्रचण्डले दक्षिणमा रहेको मौलिक ज्ञान प्रणालीमा स्थापित बौद्धिक सम्पदाले विश्वव्यापीरुपमा देखिएका वर्तमान समस्या समाधान गर्ने बताउनुभएको छ । उहाँले चिकित्सा शिक्षा, जीवन शैली र शान्ति स्थापनाजस्ता विषयमा दक्षिणको मौलिक बौद्धिक सम्पदाले विश्वलाई सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

दक्षिणमा रहेका ज्ञानका स्रोतहरु विश्वव्यापी व्यवस्थामा योगदान पुर्‍याउनका लागि बैठक एवं सम्मेलन प्रस्थानबिन्दु हुने उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले विश्वव्यापी दक्षिणका लागि उच्च शिक्षा घोषणापत्र तयार गर्न महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

“हामीले आर्थिक मापदण्डका आधारमा दक्षिण र उत्तरबीच विभाजनलाई टाढा राख्नुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “बरु, साझा आधारहरू खोजेर दक्षिण र उत्तरलाई जोड्ने तरिकाहरू खोज्नुुपर्छ ।” उहाँले उत्तर–दक्षिण जोड्ने घोषणापत्र लेख्न नेपालबाट काठमाडौं विश्वविद्यालयले अगुवाइ गरिरहेको भन्दै यस्ता बौद्धिक कार्यले विश्वलाई नै सहयोग पुग्ने बताउनुभयो ।

आफ्नो ३२ वर्षको इतिहासमा, काठमाडौं विश्वविद्यालयले अन्तर्राष्ट्रियकरण र शैक्षिक कार्यक्रमहरूको विस्तारमा सराहनीय प्रयास गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले पाँच हजारभन्दा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई स्नातक गराएकोप्रति खुशी व्यक्त गर्नुभयो । विश्वविद्यालयको यसखाले पहलहरूले नेपालको शैक्षिक प्रस्तावहरूलाई मात्र नभएर अन्तर–सांस्कृतिक बुझाइ र सहकार्यलाई पनि बढावा दिएको उहाँले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले आगामी शैक्षिक वर्षमा विश्वेश्वर योग अनुसन्धान संस्थानसँगको साझेदारीमा भारतको तिरुपतिमा प्रदान गरिएको योगविज्ञान र कल्याणमा स्नातक कार्यक्रमको साथमा काठमाडौं विश्वविद्यालयले विदेशमा आफ्नो शैक्षिक कार्यक्रम विस्तार गरेकोमा बधाई दिनुभयो ।



प्रतिक्रिया