धनुषाको जनकपुरधाममा आजदेखि साहित्य महोत्सव सुरु हुँदै

महोत्सवमा समाज, भाषा, संस्कृति, साहित्य, राजनीति लगायतको विषयमा छलफल हुने

खबर खुराक
१० फागुन २०८० १३:३०

१० फागुन, जनकपुरधाम । धनुषाको जनकपुरधाममा आजदेखि साहित्य महोत्सव सुरु हुँदै छ । नव मिथिला फाउण्डेशनको आयोजनामा राम मन्दिरको प्रांगणमा तीन दिनसम्म साहित्य महोत्सव हुन लागेको हो ।

महोत्सवमा समाज, भाषा, संस्कृति, साहित्य, राजनीति लगायतको विषयमा छलफल हुने फाउन्डेसनका अध्यक्ष अमित साहले जानकारी दिए ।

महोत्सवमा ‘चाहियो रंगशाला’, किताब उपर समीक्षा, कसरी हुन्छ निर्णय ?, नव उद्यमी र उद्यमशीलता, स्वस्थ मधेश, सम्पदा, संस्कार र साहित्य, शिक्षाको नयाँ आवश्यकता र परिभाषा, मधेशको श्रम यात्रा, बोल्ने स्वतन्त्रता, साँस्कृतिक सम्बन्धको डोरी, मौन चित्कार र संघीयता गलत अभ्यास वा कमजोर परिकल्पना’ जस्ता १४ वटा शीर्षकमा विमर्श हुने अध्यक्ष साहको भनाइ छ । उनका अनुसार तीनै दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको सांगीतिक कार्यक्रम पनि हुने छ ।

विगत पाँच वर्षदेखि फाउण्डेशनले जनकपुरमा साहित्य महोत्सव गर्दै आएको छ । महोत्सव अन्तर्गत यसपटक वक्तृत्वकला, कविता र शिल्पकला प्रतियोगिता पनि हुने छ ।

महोत्सवमा साहित्यकारसँगै कलाकार, विद्यार्थी, राजनीतिकर्मी, संगीतकार, लेखक, पत्रकार र साहित्यप्रेमीहरुको उपस्थिति रहने आयोजकले जनाएको छ ।



प्रतिक्रिया