मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

खबर खुराक
१३ फागुन २०८०

१३ फागुन सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–८, स्थित भित्री सडकमा शनिबार राति मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।

गोडैताबाट बकैनियातर्फ जाँदै गरेको मधेस प्रदेश ०२–००७ प १२३० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सडकमा हिँडिरहनुभएका चक्रघट्टा गाउँपालिका–९, खोरिया टोल बस्ने ५० वर्षीय नागेन्द्र रायको मृत्यु भएको हो । रायलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट रायसँगै हिँडिरहनुभएका चक्रघट्टा गाउँपालिका–९, खोरिया टोल बस्ने ४५ वर्षीय पन्चलाल यादव घाइते हुनुभएको छ । त्यस्तै पैदल यात्रीलाई ठक्कर दिएर मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालक गोडैता नगरपालिका–६, बस्ने २३ वर्षीय श्याम राय समेत घाइते हुनुभएको प्रहरीले जनाएको छ ।

पैदल यात्री यादव र चालक रायको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार चलिरहेको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियार थारुले जानकारी दिनुभयो ।