छिमेकीको हत्या गरेको आरोपमा बाबुछोरा पक्राउ

खबर खुराक
१४ फागुन २०८०

१४ फागुन, बझाङ । बझाङमा छिमेकीको हत्या गरेको आरोपमा बाबुछोरालाई पक्राउ गरिएको छ ।

जयपृथ्वी नगरपालिका-७ सुबेडाको किमतोलीका ४० वर्षीय रामप्रशाद जोशीको हत्या गरेको अभियोगमा ४८ वर्षीय जयबहादुर हमाल र उनका २९ वर्षीय छोरा जनक हमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरत शाहले आइतबार दिउँसो मदिरा सेवन गरेर बाबुछोराले जोशीमाथि कुटपिट गरेको बताए । कुटपिटबाट घाइते जोशीको राति उपचारका क्रममा मृत्यु भएको थियो ।

आपसी विवादका क्रममा जोशीमाथि कुटपिट भएको बताइएपनि विस्तृत कारण भने खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ । मृतक जोशीको शव परीक्षणका लागि जिल्ला अस्पताल बझाङमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।