त्रिकोणात्मक टी-२० आई सिरिज

टी-२० आई सिरिज : जित्नै पर्ने दबाबमा नामिबियासँग खेल्दै नेपाल

खबर खुराक
१८ फागुन २०८० १०:४६

१८ फागुन, काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा आज नामिबियासँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ ।

नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो । नामिबियाले दिएको २०७ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८६ रनमा अल आउट भएको थियो ।

नेपाल शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न आजको खेलमा जित आवश्यक छ । आजको खेलमा पराजित भएमा नेपाल औपचारिक रुपमै फाइनल दौडबाट बाहिरिनेछ ।

नेदरल्यान्ड्सले नेपाललाई २ रन र नामिबियालाई ५९ रनले हराउँदै शीर्षस्थानमा छ । नेपाललाई पहिलो खेलमा हराउन नामिबियाका जान निकोल लोफ्टी एटनले ३६ बलमा ८ छक्का र ११ चौकासहित  १०१ रनको शतकीय इनिङ खेलेका थिए ।

नेपालले पछिल्लो खेलबाट टोलीमा एक परिवर्तन गर्नसक्छ । ब्याटिङ बलियो बनाउन अनिल शाहलाई मौका दिंदा सन्दीप जोरालाई बाहिर गर्न सक्छ । जोरा नामिबियासँग ५ र नेदरल्यान्ड्ससँग ८ रनमा आउट भएका थिए ।

कुशल भुर्तेल दुवै खेलमा शून्यमा आउट भएका छन् । आज पनि उनलाई मौका दिने देखिन्छ । उनीबाट आज नेपाल ठूलो इनिङ चाहन्छ । दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । नेदरल्यान्ड्सविरुद्ध खेलेको ३४ बलमा ६३ रनको इनिङले मनोबल झनै बढ्नेछ । नेपाल दुवै खेलमा फिनिसिङमा कमजोर देखिएको छ ।

बलिङ नेपालको समस्या देखिएको छ । पावर प्लेमा करण केसी र सोमपाल कामीले राम्रो बलिङ गर्न आवश्यक देखिन्छ ।

उता नामिबियाका जेराल्ड इरास्मस पूर्णरुपमा फिट नहुँदा सुरुवाती दुई टी-२० आई खेल खेलेका थिएनन् । उनी फर्किएको खण्डमा नामिबिया थप मजबुत बन्नेछ । जेजे स्मित प्रमुख हतियार हुन् । ठूला सटको क्षमता राख्ने उनको विकेट समयमै लिन आवश्यक पर्दछ ।

नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । आइतबार नामिबिया र नेदरल्यान्ड्स भिड्नेछन् । नेपाल फाइनलमा पुग्न दुवै खेलमा जित आवश्यक पर्दछ । आजको खेलमा जित बाहेक अन्य विकल्प छैन । नेपाल आज पराजित हुँदा नामिबिया र नेदरल्यान्ड्स फाइनल खेल्ने पक्का हुनेछ ।

 



प्रतिक्रिया