घटना

जनकपुरधाममा स्कुल बसको ठक्करबाट एकको मृत्यु, पाँच घाइते

खबर खुराक
२० फागुन २०८०

२० फागुन, जनकपुरधाम ।  जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धीमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

आइतबार प्रदेश-२-०२-००१ क ०४३१ नम्बरको एन्जल्स स्कुल बसले ठक्कर दिँदा सोही ठाउँकी ३५ वर्षीया राखीदेवी यादवको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रन्जन अबाले जानकारी दिनुभयो । उहाँका अनुसार ठक्करबाट घाइते भएका पशुपति देवी, अम्बिका झा र ममतादेवी यादवलगायत पाँचै जनाको प्रादेशिक अस्पताल जनकपुरमै उपचार भइरहेको छ ।

यता चालकको लापरबाहीले महिलाको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयवासीले ढुङ्गामुढा प्रहार गरेर स्कुल बसको सीसा फुटाइदिएका छन् भने बसलाई घेराउ गरेर विरोध प्रदर्शनमा उत्रेका छन् ।