राजनिति

कांग्रेस संसदीय दलको निष्कर्ष : प्रधानमन्त्रीले राजनैतिक बेइमानी गरे

खबर खुराक
२४ फागुन २०८०

२४ फागुन, काठमाडौँ  नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्रीमाथि राजनैतिक बेइमानी गरेको आरोप लगाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन बदलेपछि बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको सभामुखलाई जानकारी गराउने निर्णय गरेको छ ।

बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने, ‘कांग्रेस सबै गठबन्धनप्रति इमान्दार रह्यो। गठबन्धनमा भएका सहमतिमा हामी प्रतिबद्ध रह्यौं। तदअनुसार नै काम गरौं। प्रचण्डले हामीलाई विश्वासघात गर्नुभयो र गठबन्धन भत्काउनुभयो। यसलाई हामीले राजनीतिक बेइमानीका रुपमा लिएका छौं ।’

प्रधानमन्त्री प्रचण्डले गठबन्धन भत्काएर मुलुकलाई अस्थिरता, अन्यौलतामा धकेलेको ठहर गर्दै साथै कांग्रेस सरकारलाई दिएकाे समर्थन फिर्ता लिने निर्णय गरेको उनले बताए। ‘प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएका छौं। यो विषय सम्मानीय सभामुखलाई जानकारी गराउँछौं,’ उनी भन्छन् ।

संघीय संसदमा प्रमुख विपक्षी दलका हैसियतले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने कांग्रेसले बाएको छ। ‘हामीले हाम्रा सांसदहरुलाई संसदमा देश जनताका हितमा प्रधावकारी रुपमा प्रस्तुत हुन र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न निर्देश गरेका छौं,’ प्रमुख सचेतक लेखकले भने ।