प्रधानमन्त्रीले देखाए कांग्रेससँग गठबन्धन तोड्नुका चार कारण

खबर खुराक
२४ फागुन २०८०

२४ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसको नेतृत्वको आफूप्रति सद्भाव र विश्वास रहे पनि राजनीतिक कारणले गठबन्धन छोड्नुपरेको बताएका छन् । कांग्रेसले राजनीतिक बेइमानी गरेको भन्ने आरोप लगाएको विषयमा उनले विकास र सरकारको गतिलाई लिएर गठबन्धन फेरेको बताए ।

“नेपाली कांग्रेसले सरकारमाथिको विश्वास फिर्ता लिइसकेकाले फेरि मैले संसद्मा विश्वासको मत राख्न बाँकी नै छ ।  विश्वासको मत लिने सन्दर्भमा विस्तारपूर्वक घटनाक्रम र समीकरणबारे धारणा राख्नेछु,” प्रधानमन्त्रीले भने, “म जिम्मेवारीपूर्वक र गम्भीरतापूर्वक भन्न चाहन्छु । यस संसद्मा म प्रधानमन्त्रीका रूपमा असुरक्षित थिइन् । टिकिरहनुलाई स्थायित्व मान्ने हो भने नेपाली कांग्रेसको नेतृत्व र मेराबीच कुनै समस्या थिएन ।”

उनले त्यस्तो ढुक्कको अवस्था भए पनि त्यो व्यक्तिगत मात्र भएको बताए । राजनीतिक  कारणले सत्ता गठबन्धन फेर्नुपरेको बताए । उनले अघिल्लो पटक पनि त्यही भएको भन्दै राजनीतिमा व्यक्तिगतभन्दा राजनीतिक कारण निर्णायक हुने बताए ।

माओवादीलाई कांग्रेसले जसरी निर्वाचनमा सघायो, त्यस अनुरुप सहयोग पाएन भन्ने मनोविज्ञान देशभर रहेकाले त्यसको सम्मान गरेको बताए । उनले कांग्रेसबाट भएका राजनीतिक गल्ती औल्याए ।

“एउटा परिस्थितिबाट फेरिएपछि कोसी प्रदेशमा एउटा घटना भयो । शेखर पक्षले विद्रोह गरेर त्यहाँ गठबन्धनको निर्णयविपरीत सरकार बन्यो । त्यसमा दण्डीत दण्डित हुनुपर्ने पक्ष भएन,” प्रचण्डले भने, “राष्ट्रियसभामा त्यही समूहले हराउने काम ग¥यो । नेपाली कांग्रेसको महासमिति बैठकमा गठबन्धनको निन्दा गर्ने काम भयो ।”

निर्वाचन आउन चार वर्षअघि नै गठबन्धनको निन्दा स्वभाविक मान्न नसकेर विकल्पको बाटोमा लागेको उनको भनाइ छ ।
उनले कांग्रेसको संविधानमाथिको प्रतिबद्धतामा पनि गम्भीर प्रश्न उठाए । संविधान जारी गर्दा नेतृत्व लिएको कांग्रेसको महासमिति बैठकमा स्टल नै राखेर हिन्दु राज्यको अभियान चल्नुले उसको प्रतिबद्धतामाथि गम्भीर प्रश्न उठेको बताए ।