के हो डिप्रेसन ? तनाव कसरी डिप्रेसनमा बदलिन्छ ?

खबर खुराक
२९ फागुन २०८० १६:२२

कुनै कुराको चिन्ता गर्नु स्वभाविक हो । तर चिन्तामा डुबिरहनु चाहिं हानिकारक हुनसक्छ । दिनरात तनाव वा चिन्ता लिंदा व्यक्ति डिप्रेसनमा पुग्न सक्छ । र, डिप्रेसनमा पुगिसक्दा समयमै पहिचान भई परिवारको सहारा र सहयोग मिलेन भने अवस्था थप गम्भीर हुनसक्छ ।

आजभोलि डिप्रेसनले सिकार भएका कलिला उमेरदेखि पाको उमेरका मानिस अस्पतालका मानसिक रोग विभागमा धेरै भेटिन्छन् । वास्तवमा, मस्तिष्कले जब पूरा आराम पाउँदैन, तब त्यसमा एक किसिमको तनावले दबाब बनिरहन्छ । जसकारण तनाव बिस्तारै डिप्रेसनमा बदलिन्छ ।

तनाव कसरी डिप्रेसनमा बदलिन्छ ?

तनाव शरीरको होमियोस्टेसिसमा हुने गडबडी हो । होमियोस्टेसिस एक अवस्था हो, जसले व्यक्तिको शारीरिक, मानसिक र मनोवैज्ञानिक कार्यलाई बाधा पुर्‍याउँछ । तनावका कारण शरीरमा केही हार्मोनको स्तर औसतभन्दा बढ्छ, जसमध्ये एड्रेनालाइन र कोर्टिसोल प्रमुख छन् । निरन्तर यी हार्मोनको स्तर बढेमा तनाव डिप्रेसनमा परिणत हुन्छ ।

डिप्रेसन एक गम्भीर अवस्था हो । यद्यपि यो कुनै रोग होइन, यो शरीर र जीवन असन्तुलित बन्दै गइरहेको संकेत हो । डिप्रेसनले घेर्दै गएपछि कतिपयलाई समाधानका लागि औषधि लिनु आवश्यक लाग्छ । तर  डिप्रेसनका लागि चलाइने ‘एन्टिडिप्रेसन’ जस्ता औषधि सेवन मात्र व्यक्ति र उसको जीवनलाई सन्तुलित पार्न त्यति प्रभावकारी हुँदैनन् ।

डिप्रेसन के कारणले हुन्छ भन्ने अहिलेसम्म वैज्ञानिक अनुसन्धानबाट स्पष्ट भइसकेको छैन । तर मानिसको व्यक्तिगत जीवनसँग सम्बन्धित धेरै कुराले तनावमा महत्त्वपूर्ण भूमिका खेल्ने केही निश्चित प्रमाणले देखाउँछन् ।

जीवनमा कतिपय यस्तो मोड आउन सक्छ, जसबारे धेरै सोचेमा अवस्था नाजुक बन्न सक्छ । जस्तै, प्रियजनबाट अलग हुनु, जागिर गुमाउनु, वैवाहिक सम्बन्ध टुट्नु, पढाइमा असफलता र अन्य धेरै कुरा डिप्रेसनको कारण बन्छन् ।

यसबाहेक जीवनप्रति नकारात्मक सोच भएका व्यक्ति डिप्रेसनमा जाने डर बढी हुन्छ । ‘म सफल हुन सक्दिनँ, त्यस कारण म केही काम गर्न सक्दिनँ, अरू भन्दा म कमजोर छु’ सोच उनीहरुमा आउँछ ।  उनीहरूको मनभित्र एक किसिमको त्रास भइरहन्छ । जसले दिन बित्दै जाँदा डिप्रेसनमा पुग्ने जोखिम बढ्छ । साथै, थाइराइड तथा भिटामिन डीको कमी जस्ता स्वास्थ्य समस्या र केही औषधिको साइड-इफेक्टका कारण पनि मानिस डिप्रेसनमा जान सक्छ ।

सामान्य मानिसको तुलनामा डिप्रेसन भएका व्यक्ति समाजबाट टाढै बस्न रुचाउने भएपनि अन्य धेरै लक्षण छन्, जसबाट डिप्रेसन भएको अनुमान गर्न सकिन्छ ।



प्रतिक्रिया