रौतहटमा मनी ट्रान्सफरका सञ्चालक माथी गोली प्रहार

खबर खुराक
२ चैत २०८०

२ चैत, काठमाडौं । मनि ट्रान्फसरका सञ्चालकमाथि रौतहटमा गोली प्रहार भएको छ । शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली चलेको हो ।

गोली प्रहारबाट सो मनी ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साह गम्भीर घाइते भएका रौतहट प्रहरी प्रमुख एवं एसपी महेन्द्र श्रेष्ठले  जानकारी दिए ।

उपचारका निम्ति उनलाई तत्काल स्थानीय अस्पतालमा पठाइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि वीरगन्जस्थित न्युरो अस्पतालमा पठाइएको उनले बताए ।

गोलि प्रहार गर्ने भारत, बिहार प्रदेशको मोतिहारी जिल्लास्थित पूर्वी चम्पारणका मुनेशकुमार यादव, राजाकुमार पासवान र चन्द्रभान सिंह पक्राउ परेका छन् । उनीहरूका साथबाट एकथान कटुवा पेस्तोल बरामद गरिएको एसपी श्रेष्ठले जानकारी दिए ।

दिउँसो करिब साढे १ बजेको घटनापछि भाग्दै गर्दा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । उनीहरूले रकम लुटपाट गरे/नगरेको बारेमा अनुसन्धान जारी रहेको एसपी श्रेष्ठले बताए ।