साझा न्यूनतम कार्यक्रम सार्वजनिक २ बजे हुने

खबर खुराक
६ चैत २०८० १०:३७

६ चैत, काठमाडौं । सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेका साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साझा न्यूनतम कार्यक्रम बिहान १० बजे सार्वजनिक गर्ने कार्यक्रम तय भए पनि विशेष कारणवश २ बजेका लागि सारिएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दिउँसो २ बजे सत्ता साझेदार दलहरूले तयार पारेका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र  नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का दुई –दुई जना नेता सदस्य रहेको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रममा शीर्ष नेताले अध्ययनपछि आज सार्वजनिक हुन लागेको हो ।

गत फागुन २१ सत्ता साझेदार दलहरूले सरकारका साझा न्यूनतम कार्यक्रम तयार गर्न  १० सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदलमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, नेकपा (माओवादी केन्द्र) बाट अर्थमन्त्री एवं उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल सहभागी हुनुहुन्थ्यो ।

कार्यदलमा जनता समाजवादी पार्टी नेपालबाट केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ र मनिष सुमन तथा नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल हुनुहुन्थ्यो । कार्यदलले शुक्रवार साझा न्यूनतम कार्यक्रमलाई पूर्णता दिएर शनिवार बिहान प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेको थियो ।



प्रतिक्रिया