अस्वस्थकर बन्दै वायु: विश्वका १० प्रदूषित सहरमध्ये काठमाडौं तेस्रो नम्बरमा

खबर खुराक
६ चैत २०८० १५:०२

६ चैत, काठमाडौं । विश्वका १० प्रदूषित सहरमध्ये काठमाडौं तेस्रो नम्बरमा परेको छ । वायु प्रदूषणको अन्तर्राष्ट्रिय सूचकांक आईक्यू एयरको मंगलबार बिहान ११ः४५ बजेको लाइभ अपडेटअनुसार काठमाडौं तेस्रो प्रदूषित सहरमा सूचीकृत भएको छ ।

सबैभन्दा प्रदूषित थाइल्याण्डको च्याङ माइ सहर रहेको आईक्यू एयरको तथ्यांक छ । त्यहाँ प्रदूषणको मात्रा १९८ यूएस एक्यूआई (एयर क्वालिटी इन्डेक्स) पुगेको छ ।

यस्तै, दोस्रोमा रहेको पाकिस्तानको लाहोरमा प्रदूषणको मात्रा १७५ यूएस एक्यूआई छ । काठमाडौंमा प्रदूषणको मात्रा १७० यूएस एक्युआई पुगेको आईक्यू एयरको तथ्यांक छ । वातावरण विभागको वायुको गुणस्तर सूचक यन्त्रमा सोमबार ललितपुरको भैँसेपाटीमा प्रदूषणको मात्रा १९१ पुगेको रेकर्ड छ ।

विश्व स्वास्थ्य संगठनले ५० यूएस एक्यूआईभन्दा माथिको वायुलाई अस्वस्थकर मानेको छ । अन्य प्रदूषित सहरहरूमा बंगलादेशको ढाका, भारतको दिल्ली, मुम्बइसहित सेनेगल, दक्षिण कोरिया र बहराइन छन् ।

एक्यूआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा तथा पीएम २.५ जाँचिन्छ । पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।

विश्व स्वास्थ्य संगठनले पीएम वायुमा २.५ (पर्टिकुलेट म्याटर) औषतमा दैनिक पाँच माइक्रोग्राम प्रतिक्युबिक मिटरभन्दा बढी हुन नहुने मापदण्ड राखेको छ । तर, नेपालमा भने वार्षिक औषत ५१.७ हुने गरेको विभागको तथ्यांक छ ।

मंसिरबाट बढ्दै गएको २.५ को मात्रा पुस, माघ हुँदै खडेरीका महिनामा अधिक हुने गरेको छ । मंगलबार बिहान ११ः४५ बजे काठमाडौंको वायुमा पीएमको मात्रा ५० पुगेको छ ।



प्रतिक्रिया