स्थानिय समाचार

आजदेखि रिडी देखी बलेटक्सारसम्मको सडक २७ दिन १२ घण्टा बन्द हुने

खबर खुराक
७ चैत २०८० १२:५२

७ चैत, गुल्मी । आजदेखि रिडी-तम्घास सडक २७ दिनका लागि दैनिक १२ घण्टा बन्द हुने भएको छ ।

मदन भण्डारी राजमार्गअन्तर्गत रिडीदेखि बलेटक्सारसम्मको २३ किलोमिटर क्षेत्रमा चट्टान फोर्न र ग्रेड मिलाउने कार्य भइरहेकोले आजदेखि ३० गतेसम्म सडक १२ घण्टा बन्द गरिएको हो ।

उक्त सडक बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घासका सूचना अधिकारी इन्जिनियर शर्मिला शर्माले जानकारी दिइन् ।

सडक बन्द भएसँगै वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले आग्रह गरेको छ ।

सडकको ७.७५ चौडाइ कालोपत्रे गरिंदैछ । अहिले भएको सडक निकै साँघुरो र कालोपत्रे पनि भत्किंदै गएको थियो । सडकखण्डको २३ किलोमिटरमा समान्तर इलाइट जेभीले निर्माण कार्य गर्दै आएको छ ।

२०८२ साल फागुन २५ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने गरी २०७९ साल फागुन २८ गते सम्झौता भएको हो । एक अर्ब ५० करोड ४८ लाख ३२ हजार ९५९ रुपैयाँ लागतमा सडक स्तरउन्नतिका साथै कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएको हो ।

सडकको २५ प्रतिशत भौतिक प्रगति र ११.५३ वित्तीय प्रगति भएको छ ।

तम्घास-रिडी सडक गुल्मी जिल्ला सदरमुकाम आउने मुख्य सडक हो । यही सडक भएर गुल्मी जिल्लाबाट अन्य जिल्लामा जाने सवारीसाधन छुट्ने गर्दछन् ।



प्रतिक्रिया