महाकवि देवकोटा क्याम्पसमा दन्त परीक्षण शिविर सम्पन्न

खबर खुराक
८ चैत २०८०

विश्व मौखिक स्वास्थ्य तथा स्वच्छता दिवसको अवसर पारेर आज मिति २०८०÷१२÷०८ गतेका दिन युनिर्भसल कलेज अफ डेन्टल सर्जरीको प्राविधिक सहयोग साथै महाकवि देवकोटा क्याम्पसको आयोजनामा यसै क्याम्पसमा दन्त परीक्षण शिविर सम्पन्न भएको छ ।
महाकवि देवकोटा क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछोनेको अध्यक्षता, सुनवल नगरपालिकाका नगरप्रमुख विमला अर्यालको प्रमुख आतिथ्यता, हस्पिटल एडमिनिस्टेटिभ कोडिनेटर डाक्टर दिपक यादव र डिपार्टमेन्ट ओरल मेडिसिन डाइग्नोसिस एण्ड रेडियोलोजीका प्रो.डा. सिद्धार्थ गुप्ता द्वयको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा क्याम्पस संस्थापक अध्यक्ष थान प्रसाद गैरे, सुनवल नगरपालिका वडा नं. ४ का वडाध्यक्ष बालकृष्ण पङ्गेनी, क्याम्पस सञ्चालक समिति सदस्य गोपाल प्रसाद शर्मा, उमानाथ पोखरेल, शालिकराम सापकोटा, क्याम्पस सल्लाहकार समिति सदस्य देवी घिमिरे, प्रतिभा कार्की, कलाधर सापकोटा, क्याम्पस संरक्षक सन्तोष कुमार पहारी क्याम्पस सञ्चालक समितिका पूर्व सदस्य रेशम शर्मा, समाजसेवी मोहन कार्की, शिविर सञ्चालनमा उपस्थित हुनुभएका युनिर्भसल कलेज अफ डेन्टल सर्जरीका डाक्टरहरु, क्याम्पसका शिक्षक कर्मचारीहरु, दन्त परीक्षणका लागि उपस्थित विद्यार्थी साथै अन्य महानुभाव गरी २०० जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त शिविर उद्घाटनसत्रमा बोल्दै विशिष्ट अतिथि डाक्टर यादवले क्याम्पसले दन्त परीक्षण शिविरको आयोजना गरेर आफूहरुलाई बोलाएकोमा धन्यवाद दिनुभयो । साथै अर्का विशिष्ट अतिथि प्राध्यापक डाक्टर गुप्ताले उपस्थित सबैलाई धुम्रपान नगर्ने सफत गराउनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख अर्यालले मानव जीवनमा मुख र दाँतको निकै महत्वपूर्ण स्थान हुने कुरा उल्लेख गर्दै दाँतले नै शरिर स्वस्थ राख्न मद्धत गर्ने हुनाले दाँतको नियमित परीक्षण गर्नु पर्ने सुझाव दिनुभयो । साथै उहाँले सुनवल नगरपालिका मै दन्त परीक्षण शिविर पहिलो पटक सञ्चालन भएको हुनाले प्राविधिक सहयोगी युनिर्भसल कलेज अफ डेन्टल सर्जरी भैरहवा र आयोजक महाकवि देवकोटा क्याम्पसलाई धन्यवाद दिनुभयो । उद्घाटन कार्यक्रम समापनको अवसरमा बोल्दै सभाध्यक्ष लामिछानेले क्याम्पसको निमन्त्रणा स्वीकार गरी कार्यक्रममा उपस्थित सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा क्याम्पस प्रमुख नारायण प्रसाद ढकालको स्वागत मन्तव्य र उप प्राध्यापक हरिदत्त शर्मा सञ्चालन रहेको थियो । शिविरमा १७० जनाले दन्त परीक्षण गराएका थिए । अन्तमा युनिर्भसल कलेज अफ डेन्टल सर्जरी भैरहवालाई मायाको चिनो र डाक्टरहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।