भूमिगत जलस्रोतको पुनःभरणका लागि जलाधार क्षेत्रको संरक्षण गरौं : राष्ट्रपति

खबर खुराक
९ चैत २०८० १०:०८

९ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा आउन सक्ने जलसंकटको चुनौतीलाई मध्यनजर गर्दै भूमिगत जलस्रोतको पुनःभरणका लागि जलाधार क्षेत्रको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । विश्व पानी दिवस, २०२४ का अवसरमा शुक्रबार शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले ग्रामीण भेगमा आहाल, पोखरी र ताल तलैया निर्माण गर्नेजस्ता परम्परागत विधिको सम्वर्द्धन गर्नुपर्ने बताए ।

सहरी क्षेत्रमा वर्षाको पानीमार्फत पुनःभरणको विकल्प सहितका पूर्वाधार निर्माण गर्न सम्बद्ध सबैले अग्रसरता लिनुपर्ने उनको भनाई छ । उनले प्राचीन एवं आधुनिक प्रविधिको मिश्रण गरेर जलाशययुक्त योजनाको तर्जुमा गर्न समेत आवश्यक रहेको बताएका छन् ।

भूमिगत जलस्रोतको अति दोहन र सहरी क्षेत्रमा निर्माण गरिएका पक्की संरचनाका कारण पुनःभरणमा अवरोध उत्पन्न भएका कारण जमिनमुनिको पानीको सतह निरन्तर घटिरहेको जनाउँदै राष्ट्रपति पौडेलले अव्यवस्थित मानव बस्ती र बढ्दो औद्योगीकरणका कारण भूमिगत जलस्रोत प्रदूषित हुँदै गएका बताए ।

‘भूमिगत जलस्रोत महत्त्वपूर्ण प्राकृतिक सम्पदा हो, जसले पारिस्थितिक प्रणालीलाई दिगो राख्न, नदीहरूको बहावलाई व्यवस्थित गर्न, जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न र सुरक्षित पिउने पानी परिपूर्ति गर्न मद्दत गर्दछ,’ राष्ट्रपति पौडेलको सन्देश छ ।



प्रतिक्रिया