भारतले बिजुली घटाएर दियो, एक वर्षको सम्झौता तीन महिनाका लागि मात्रै नवीकरण

खबर खुराक
१५ चैत २०८० १४:२६

१५ चैत, काठमाडौं । भारतले नेपाललाई विद्युत् आयात गर्न अनुमति दिएको सम्झौता तीन महिनाका लागि नवीकरण गरेको छ । नेपाल र भारतबीच २०७८ मसिंरमा विद्युत आयात सम्बन्धी पाँच वर्षे सम्झौता भएको थियो ।

पाँच वर्षका लागि भए पनि प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने सम्झौताको म्याद मार्च ३१ मा सकिन्छ । यसअघिका वर्षमा भारतले वार्षिकरूपमा सम्झौता नवीकरण गरे पनि यसपटक तीन महिनाका लागि मात्रै अनुमति दिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जुन ३० सम्मका लागि मात्रै भारतले आयात अनुमति दिएको बताए ।

यस्तै नेपालले आयात गर्दै आएको विद्युत् परिणाम समेत भारतले घटाएको छ । यसअघि साढे ६ सय मेगावाट विद्युत् आयात गर्दै आएकोमा यसपटक साढे पाँच सयमा झारेको छ ।

ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट ५०० मेगावाट र टनकपुरबाट ५४ मेगावाट बिजुली तीन महिनासम्म आयात गर्न पाउने गरी भारतले अनुमति सम्बन्धी सम्झौता नवीकरण गरेको हो ।

प्राधिकरणका प्रवक्ता घोषले अहिले यो मात्राको विद्युत् पर्याप्त हुने बताए । तीन महिनापछि भारतले फेरि अुनुमति नवीकरण गर्ने विश्वास उनले व्यक्त गरे । उनले ५ सय मेगावाट ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन र ५४ मेगावाट टनकपुरबाट आयात गरिने जानकारी उनले दिए ।

अहिले नेपालले भारतबाट ६५० मेगावाट विद्युत् आयात गर्न पाउने व्यवस्था छ ।



प्रतिक्रिया