मेलापात र गोठालोको साथी रेडियो नेपाल: सञ्चार मन्त्री शर्मा

खबर खुराक
२० चैत २०८० १०:५४

२० चैत, काठमाडौं । प्रविधिको विकाससँगै रेडियोको प्रभावकारिता समेत वृद्धि हुँदै आएकाले रेडियो नेपाल जनताको साथीको रूपमा विकास हुँदै आएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताउनुभयो । रेडियो नेपाल ७४ औँ वार्षिकोत्सवको अवसरमा सम्बोधन गर्नुहुँदै उहाँले ९३ प्रतिशत जनसङ्ख्यामा रेडियोको पहुँच पुगेको छ अव शतप्रतिशत जनसङ्ख्यामा रेडियोको पहुँच पुर्याउदै मेलापात र गोठालोको साथी रेडियो नेपाल: बन्नुपर्ने उहाँले बताउनुभयो ।

मन माटोलाई जोड्ने खालका कार्यक्रमहरूको विकास गर्नु जरुरी भएकाले जनताको इच्छा र परिवर्तनकारी कार्यक्रमहरू ल्याउन उहाँले सम्बोधनकै क्रममा रेडियो नेपाललाई निर्देशन दिनुभयो । प्रतिस्पर्धी युगमा समय सुहाउँदो प्रविधिको प्रयोग बढाउँदै समाचार र प्रसारण सामाग्रीलाई प्रभावकारी बनाउनुमा कन्जुस्याइँ गर्न नहुने र यसमा मन्त्रालयले सहयोग गर्ने उहाँले बताउनुभयो ।

सरकार र जनताका बिचको पुलको काम सरकारी सञ्चार माध्यमले गर्नु पर्नेमा जोड दिन उहाँले बताउनुभयो । प्रादेशिक प्रसारण समय बढाउनु पर्ने, बहुभाषिक र बहु धार्मिक कार्यक्रमले समावेशितालाई पूर्णता दिएको उहाँको भनाई छ ।

रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकाबद्ध गर्दै सार्वजनिक प्रसारण सेवा रूपान्तरण गरेर थप प्रभावकारी रूपमा पहुँच विस्तार गर्न मन्त्रालय लागि परेको उहाँले स्पष्ट पार्नु भयो ।



प्रतिक्रिया