‘एसएमएस फ्रेन्डसिप कप’ को उपाधीका लागि नेपाल र गुजरात भिड्दै

खबरखुराक
२५ चैत २०८० १०:४४

२५ चैत, बुटवल । भारतमा जारी ‘एसएमएस फ्रेन्डसिप कप’ को उपाधिका निम्ति आज नेपाली क्रिकेट टिम र गुजरात क्रिकेट एसोसियसन बीच प्रतिस्पर्धा हुँदै छ । यसअघि लिग चरणका चारमध्ये तीन खेलमा जित निकालेको नेपाल विजेताको रूपमा फाइनलमा आइपुगेको हो ।  गुजरात भने लिग चरणबाट दोस्रो स्थानमा रहँदै फाइनलमा आएको हो ।

त्रिकोणात्मक शृङ्खलामा नेपाल र गुजरातसँगै बरोडा क्रिकेट एसोसियसनले प्रतिस्पर्धा गरेका थिए । लगातार तीन खेलमा पराजित भएको बरोडा भने लिग चरणको अन्तिम खेल अगावै उपाधि होडबाट बाहिरिइसकेको थियो ।

नेपालले ओमानमा आयोजना हुने एसीसी प्रिमियर कप र त्यसपछि अमेरिका र वेस्ट इन्डियमा संयुक्त रुपमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको तयारीका क्रममा भारतीय क्लबसँग त्रिकोणात्मक शृङ्खला खेलेको हो । एसीसी प्रिमियर कपको दोस्रो संस्करण  अप्रिल १२ देखि २१ तारिखसम्म आयोजना हुँदैछ । एसीसी प्रिमियर कपमा सहभागी हुन नेपाली टोली भारतबाटै ओमान प्रस्थान गर्ने छ । नेपाल एसीसी प्रिमियर कपको साविक विजेता पनि हो ।

एसीसी प्रिमियर कपको पहिलो संस्करण एक वर्षअघि नेपालमै आयोजना भएको थियो । उक्त संस्करणको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको थियो । आईसीसीको एसोसिएट्स सदस्य राष्ट्रका लागि प्रिमियर कप निकै महत्वपूर्ण प्रतियोगिता हो



प्रतिक्रिया