सर्लाहीमा आगलागीबाट ६ घर जलेर नष्ट

खबर खुराक
२६ चैत २०८० १६:४१

२६ चैत, काठमाडौं । सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानीपुर मुसहर बस्तीमा आगलागी हुँदा छ वटा घर जलेर नष्ट भएका छन् । पाँच वटा घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।

स्थानीय रामविश्वास रामको घरबाट सुरु भएको आगलागीमा परेर उहाँसहित दिनेश माझी, जोखु मुखिया, भुर्री देवी, राजनारायण माझी र विन्देश्वर माझीको घर पूर्ण रुपमा जलेको छ ।

यस्तै, आगलागीमा परेर राजनारायण माझी, किशोर मुखिया, हर्ष मुखिया, मिश्री माझी र नरेश रायको घरमा आंशिक क्षति पुगेको छ । सोमबार मध्यान्ह साँढे ११ बजेदेखि सुरु भएको आगलागी स्थानीय बासिन्दा, सुरक्षाकर्मी र हरिवन तथा मलङ्गवा नगरपालिकाबाट आएका दमकलको सहयोगमा दिउँसो १:१५ तिर नियन्त्रणमा आएको सर्लाहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

डिएसपी श्रेष्ठका अनुसार प्रारम्भिक विवरण अनुसार आगलागीबाट २६ लाख रुपियाँ बराबरको भएको छ । आगलागीको कारण प्रष्ट हुन सकेको छैन ।

आगलागीबाट घर जलेर नष्ट भएपछि अति विपन्न मुसहर समुदायको बिचल्ली भएको छ । खरले छाएका अधिकांश घर तीव्र गतिमा चलेको हावाहुरीले एकै छिनमा खरानी भएका स्थानीयले बताएका छन् ।

बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायले आगलागी पीडितलाई राहत स्वरुप तत्काल खानका चामल, दाल, आलु, तेलसहितका खाद्यान्न वितरण गरिएको बताउनुभयो । सर्लाहीसहित तराई क्षेत्रमा केही दिनदेखि सुक्खापन बढेर तीव्र गतिमा हावाहुरी चल्दा आगलागीका घटना बढेकाे छ ।



प्रतिक्रिया