खोटाङमा भीरबाट लडेर राईको मृत्यु

खबर खुराक
६ वैशाख २०८१ ११:०५

६ वैशाख, खोटाङ । खोटाङमा भीरबाट लडेर एकको मृत्यु भएको छ । वराहपोखरी गाउँपालिका–४ फाक्टाङका ५८ वर्षीय रामबहादुर राईको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

पास्नीको भोज खाएर घर फर्कने क्रममा राई भीरबाट लडेको बताइएको छ । बाराहपोखरी गाउँपालिका–५ पौवासेरास्थित आफन्तको घरमा पास्नी भोज खाएर फर्कने क्रममा बुधवार साँझ फाक्टाङ र पौवा सेराको सिमानामा पर्ने बेतुवा खोलाको भीरबाट लडेर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताउनुभयो ।

घटनाको बारेमा प्रहरीलाई खबर आए लगत्तै प्रहरी चौकी हुक्नाजोरबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा प्रहरीको टोली बुधवार साँझ घटनास्थल पुगेका थिए । इलाका प्रहरी कार्यालय खोटाङ बजारबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको प्रहरीले बिहीबार बिहान कानुनी प्रक्रिया पुरा गरेर शवलाई पोस्टमार्टमका लागि उदयपुर पठाएको छ ।



प्रतिक्रिया