कस्तो बन्दै छ त सिद्धबाबा सुरुङमार्ग ? (तस्बिरहरु)

खबर खुराक
१० वैशाख २०८१ १४:३०

१० वैशाख, काठमाडौं । सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा यतिबेला सुरुङ खन्ने काम धमाधम भइरहको छ ।

पहिरोग्रस्त क्षेत्रमा सुरुङबाट सडक निकाली सडक यातायातलाई सुरक्षित बनाउने उद्देश्यले यो परियोजना अगाडि बढेको हो ।

आयोजनाले दुई साता अघि सार्वजनिक गरेको विवरण अनुसार सुरुङमार्ग निर्माण थालिएको साढे २ महिनामै ४५ मिटर खनिएको छ ।

स्लोप कटिङ र प्रोटेक्सनतर्फ १८८ मिटर बराबरको काम भएको छ । नर्थ पोर्टल र साउथ पोर्टलको काम समेत सुरु भएको आयोजनाले जनाएको छ ।

यो परियोजनाको निर्माणको काम चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीईसी)ले गरिरहेको छ । यी सबै कामको भौतिक प्रगति ११.०५ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।

यस आयोजनामा कुल १ किलोमिटर १२६ मिटर लामो सुरुङ बन्ने छ । यसबाहेक बुटवल र पाल्पातर्फको ७८० मिटर सडकमा दोहोरो लेन, स्लोप प्रोटेक्सनसहितको संरचना गरी कुल २.५९ किलोमिटर क्षेत्रमा भौतिक संरचना निर्माण हुँदैछ । पोखरासँग जोड्ने सुरुङमार्ग पुरा भएपछि सो क्षेत्रमा पहिरोको जोखिम घटाउने र स्थानीय आर्थिक विकासमा समेत योगदान पुग्ने अपेक्षा लिइएको छ ।

सिद्धबाबा सुरुङ आयोजनाको ठेक्का प्रक्रिया २०७८ सालमै सम्पन्न भएको हो । सीएससीईसीले इन्जिनियरिङ, प्रक्योरमेन्ट एण्ड कन्ट्रक्सन (इपीसी) मोडलमा सुरुङ मार्गको ठेक्का पाएको हो । यो आयोजना ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लागेको हो । अहिले नारायणगढ–बुटवल सडक खण्डको कामको ठेक्का पाएकै कम्पनीले सुरुङ मार्ग बनाउन थालेको हो । यो सडक खण्डको काममा ढिलाई गर्दा आलोचना बेहोरेको कम्पनीले अबको ४ वर्ष भित्र सुरुङ मार्गको निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने जिम्मेवारी छ ।

सिद्धबाबा सुरुङका लागि १ मंसिर २०७७ मा मन्त्रिपरिषद् बैठकले बजेट सहमति प्रदान गरेको थियो । ९ जेठ २०७८ मा सडक विभागले ग्लोबल टेण्डरमार्फत ठेक्का आह्वान गरेको थियो । सोही अनुसार कम बजेट प्रस्ताव गर्ने चिनियाँ कम्पनीले सुरुङ निर्माणको जिम्मेवारी पाएको हो । यसको निर्माण पश्चात समेत सोही कम्पनीले ५ वर्षसम्म मर्मतको काम समेत गरिदिनु पर्ने सर्त छ । यो सडक खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ तथा म्याग्दीसम्म यातायातका साधन चल्ने गर्छन् । हरेक वर्ष जाने पहिरोले जनधनको क्षति पुर्‍याएसँगै सरकारले यहाँ सुरुङमार्ग निर्माणको निर्णय गरेको थियो ।

आयोजनाका अनुसार यहाँ बुटवल र पाल्पा दुबैतर्फ जोखिमयुक्त सडकमा दुई लेनको सडक बनाइने छ । सडकको माथिल्लो भागमा सुरक्षा संरचनाहरु बनाइने छ । यसले सडक माथिबाट खस्ने ढुंगाहरुलाई सिधै तल झार्ने छ ।

यसरी कुल ३ किलोमिटर सडकलाई सुरक्षित गराउने योजना छ । सुरुङ मार्गको तीन स्थानमा खुला स्थान राखिने भएको छ । आकस्मिक घटना भइहालेमा सोही स्थानबाट उद्धारको काम हुने छ ।     



प्रतिक्रिया