बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

खबर खुराक
११ वैशाख २०८१ १७:३४

मिति २०८१/०१/११ गतेका दिन मायादेवी इङ्लिश स्कुलको आयोजनामा यसै स्कुलको सभाहलमा कक्षा ८ मा सतप्रतिशत नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई शैक्षिक सफलताको शुभकामना दिने उद्धेश्यले सञ्चालन गरिएको बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
यसै विद्यालयका प्रधानाध्यापक दिपनारायण साहनीको अध्यक्षता, रामग्राम गतिविधिका सञ्चालक सामाजिक अभियन्ता रवि पाण्डेको प्रमुख आतिथ्यता, यसै विद्यालयका पूर्व विद्यार्थी रामग्राम नगरपालिका कृषिशाखाका अधिकृत किरन गुप्ता साथै महाकवि देवकोटा क्याम्पसका उप प्राध्यापक यसै विद्यालयका शिक्षक हरिदत्त शर्माद्वयको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा कक्षा ८ मा सतप्रतिशत नतिजा ल्याउन सफल विद्यार्थी भाइ बहिनीहरु, अभिभावकवर्ग, विद्यालयमा अध्यापनरत शिक्षक शिक्षिकाहरु गरी ६० जनाको उपस्थिति रहेको थियो । उक्त अवसरमा बोल्दै विशिष्ट अतिथि शर्माले २५ जना विद्यार्थीहरु मध्ये २० जना ए प्लस साथै ५ जना ए ल्याई रामग्राम नगरपालिकामै सतप्रतिशत नतिजा ल्याउन सफल एक मात्र विद्यालय बनेकोमा विद्यालयसंग सम्बद्ध सम्पूणर् पक्षलाई धन्यवाद दिनुभयो । मायादेवी इङ्लिश स्कुलकै कारणले गर्दा आफूले पूणर् छात्रवृत्तिमा स्नातकोत्तर सम्मको अध्ययन गरी सरकारी सेवामा प्रवेश गरेको बताउँदै अर्का विशिष्ट अतिथि गुप्ताले आफू विद्यालयबाट बाहिरिए पछि विभिन्न विद्यालय तथा क्याम्पसहरुमा अध्ययन गरेको तर यो विद्यालयको जस्तो शिक्षण साथै अतिरिक्त क्रियाकलाप अन्य विद्यालय तथा क्याम्पसमा नभएको विचार व्यक्त गर्नुभयो । सो अवसरमा प्रमुख अतिथि पाण्डेले रामग्राम नगरपालिका भित्रका ठूला ठूला र पुराना विद्यालयहरुलाई पछि पार्दै गाउँमा भएर पनि गुणस्तरीय शिक्षा प्रदान गरेको सन्दर्भ उल्लेख गर्दै शैक्षिक गुणस्तरको लागि विद्यार्थीहरु यो विद्यालय छोडेर अन्यत्र जान नपर्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रम समापनको अवसरमा बोल्दै सभाध्यक्ष साहनीले आफ्नो विद्यालयको शैक्षिक गुणस्तर देखेर नगरपालिका भित्रका विद्यालयहरु हतोत्साही भएर गलत प्रचार प्रसार गरेको सन्दर्भ उल्लेख गर्दै आफ्नो विद्यालय शैक्षिक गुणस्तरमा हरेक विद्यालयसंग प्रतिस्पर्धा गर्न तयार रहेको विचार व्यक्त गर्नुभयो । उक्त कार्यक्रमा शिक्षक जयन्त्री यादवको स्वागत मन्तव्य र शिक्षक मानेश्वर साहनीको सञ्चालन रहेको थियो ।



प्रतिक्रिया