गण्डकी प्रदेशका ४ सय ६७ ठाउँमा डढेलो

खबर खुराक
१७ वैशाख २०८१ १३:०२

१७ वैशाख, गण्डकी । गण्डकी प्रदेशका विभिन्न ४ सय ६७ ठाउँमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब ८ हजार २ सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको छ ।

सुक्खा याम लम्बिँदा डढेलोका घटना अझै बढ्ने देखिएको निर्देशनालयका वन अधिकृत तिलकबहादुर थापाले बताए । हिमाली जिल्ला मुस्ताङबाहेक प्रदेशका १० वटै जिल्लामा डढेलोका घटना भएको निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी नवलपुरमा झण्डै २५ सय ५३ हेक्टर र सबैभन्दा कम मनाङमा २ हेक्टर वन क्षेत्रमा डढेलो लागेको हो ।

सबैभन्दा बढी म्याग्दीमा ८१ र मनाङमा एक स्थानमा डढेलो लागेको वन अधिकृत थापाले जानकारी दिए । नवलपुरमा ८० स्थानमा, पर्वतमा ५५, बागलुङमा ५२, स्याङ्जामा ५२, गोरखामा ५१, कास्कीमा ४५, तनहुँमा २६ र लमजुङमा २४ स्थानमा डढेलो लागेको उनको भनाइ छ ।

नवलपुरपछि सबैभन्दा बढी बागलुङमा १६ सय ८५ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको छ । पर्वतमा १४ सय १६ हेक्टर, म्याग्दीमा नौ सय २२, कास्कीमा सात सय ५०, स्याङ्जामा चार सय ९७, गोरखामा दुई सय १५, तनहुँमा एक सय ८४ र लमजुङमा ५१ हेक्टर वन क्षेत्रमा डढेलो लागेको निर्देशनालयले जनाएको छ ।



प्रतिक्रिया