गुल्मीमा एक सामुदायिक वनमा आगो लगाएको आरोपमा दुईजना पक्राउ

खबर खुराक
१८ वैशाख २०८१ १३:०६

१८ वैशाख, काठमाडौं । बढ्दो आगलागीका कारण गुल्मीको वातावरण धुवाँमय बन्दा वायु प्रदूषण बढेको छ । एक सामुदायिक वनमा आगो लगाएको आरोपमा दुईजना पक्राउ परेका छन् । जिल्लाको रेसुंगा नगरपालिका –७ स्थित सिस्न्यारा पातल सामुदायिक वनमा आगो लगाएको आरोपमा दुईजना पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा रेसुंगा गाउँपालिका–७ का ३८ वर्षीय राजकुमार पन्थी क्षेत्री र ४१ वर्षीय राजु जिसी छन् ।

गत बैशाख ७ गते उक्त सामुदायिक वनमा आगलागी हुँदा बोटविरुवा र वन्यजन्तुमा ठूलो क्षति पुगेको थियो । आरोपी दुवैजनाले वनमा आफूहरुले आगो लगाएको स्वीकार गरिसकेका छन् । आगलागी घटनाबारे उनीहरूबाट थप अनुसन्धान भइरहेको छ । उनीहरूलाई नेटा बजारबाट वैशाख १७ पक्राउ गरिएको थियो । उनीहरुलाई वन ऐन २०७६ मार्फत आगो लगाएको कसुरमा मुद्दा चलाउने तयारी गरिएको छ । वनमा आगो लगाउने व्यक्ति पुष्टि भएमा ३ वर्ष कैद र ६८ हजार जरिवान वा दुवै सजाय हुन सक्ने कार्यालयले जनाएको छ ।

पाखो तथा खरबारीमा राम्रो घाँस पलाउने आशामा नागरिकले आफैँ आगो लगाउने गरेका छन् भने खेतबारीमा बर्खेबाली लगाउनु अघि स्याउला,पात पतिङ्गर पोल्ने जस्ता गतिविधिका कारण आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जनाकारी दिए ।

प्राय:दिनहुँजसो जिल्लाका विभिन्न स्थानमा रहेका व्यक्तिगत खरबारीमा आगलागी भइरहेका छन् । अधिकांश घटनामा मानवीय लापरबाही नै बढी देखिएको प्रहरी नायब उपरीक्षक पोखरेलले जनाकारी दिए ।आगलागी भएका अधिकांश ठाउँमा तीनवटै तहका सुरक्षाकर्मी,स्थानीयवासी र वन कार्यालयका कर्मचारीको सहकार्यमा निभाउने गरिएको छ । एकपटक निभाइसकेका ठाउँमा पनि पुनः आगलागी हुने गरेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया