बागमती प्रदेशका मुख्यमन्त्री अस्वस्थ, हेलिकोप्टरमार्फत काठमाडौं लगिँदै

खबर खुराक
२५ वैशाख २०८१ १५:४४

२५ वैशाख, सिन्धुली । बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्यमा समस्या देखिएपछि सिन्धुलीको सुनकोसी गाउँपालिकाबाट हेलिकोप्टर मार्फत काठमाडौं लाने तयारी गरिएको छ ।

रामेछापको कार्यक्रममा सहभागि भएर सिन्धुलीको सुनकोसी गाउँपालिका आइपुगेका मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्यमा समस्या देखिएको प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले अन्नपूर्णलाई जानकारी दिए ।
‘मुख्यमन्त्री जम्कट्टेलको प्रेसर र सुगरको लेवल घटेपछि थप उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर मगाइएको छ । उहाँलाई चिकित्सकको सल्लाह अनुसार काठमाण्डौं लैजाने तयारी भएको हो,’ दाहालले भने ।

मुख्यमन्त्री जम्कट्टेलले स्वास्थ्य समस्या भएको जनाएपछि सुनकोसी गाउँपालिका ७ स्थित आत्मीय सामुदायिक अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको थियो । उनलाई अस्पतालका डाक्टरले काठमाण्डौं लैजान सुझाव दिएपछि हेलिकोप्टर मगाइएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनालले बताए । ‘उहाँलाई अहिले अस्पतालबाट सुनकोसी-५ मुलकोट हेलीप्याडमा एम्बुलेन्समार्फत ल्याइँदै छ । हेलिकोप्टर आउन साथ काठमाडौं पठाइनेछ,’ खनालले भने ।

मुख्यमन्त्री जम्कट्टेल बुधबार मध्य तराईका पाँच जिल्लाको १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने र ३१ दशमलव ७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेर निर्माण थालिएको सुनकोशी–मरिण डाइभर्सन सुरुङ मार्गको ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागि हुन आजै सुनकोसी बस्ने कार्यक्रम तय भएको थियो । मुख्यमन्त्री जम्कट्टेल आजै काठमाडौंबाट रामेछाप पुगेर सिन्धुली फर्किएका हुन्।



प्रतिक्रिया