मौसम

रुपन्देहीसहित विभिन्न ठाउँमा रातीदेखि वर्षा : कस्तो छ दिनभरको मौसम ?

खबर खुराक
३० वैशाख २०८१

३० वैशाख, बुटवल । लुम्बिनी प्रदेशको रुपन्देहीसहित आसपासका जिल्लाहरुमा आज विहानैदेखि वर्षा भएको छ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।

हाल  गण्डकी, लूम्बिनी र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बागमती, लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको समेत सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।