कोसीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

खबर खुराक
३१ वैशाख २०८१
३१ वैशाख, विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले कोसी प्रदेशसभाको पाँचौ अधिवेशन आज बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेका छन् । उनले कोसी प्रदेश सरकारको २०८१ वैशाख २७ गतेको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम उक्त आह्वान गरेका हुन् ।

यही वैशाख २७ गते कोसी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले सोही दिन साँझ पद तथा गोपनीयताको शपथ लिएका थिए । उनलाई नेकपा (एमाले) का ३९, नेकपा (माओवादी केन्द्र)का १३ सहित ५२ प्रदेशसभा सदस्यको साथ र समर्थन रहेको छ ।

आजको बैठकमा नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम तथा कोसी प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत)को नियम १२८ बमोजिम कोसी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने बैठकको कार्य सूची रहेको छ । रासस