उपप्रधानमन्त्री उपेन्द्र यादवले दिए राजीनामा

खबर खुराक
३१ वैशाख २०८१

३१ वैशाख, काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । यादवले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामापत्र बुझाएका हुन् ।

“सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा गठन गरिएको सरकारमा विगत करिब दुई महिनादेखि म उपप्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु,” उनले राजीनामापत्रमा लेखेका छन्, “आजसम्म तपाईंको नेतृत्वको सरकारमा रहेर सहकार्य गर्ने अवसर प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु ।”

आफू अमेरिकामा रहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै पार्टी फुटाइदिएको उनको आरोप छ ।

जसपा नेपालबाट अशोक राई र राजेन्द्र श्रेष्ठले पार्टी विभाजन गरी जनता समाजवादी पार्टी गठन गरेका छन् । जुन पार्टीलाई निर्वाचन आयोगमा निवेदन दिएको २० घण्टा पनि नबित्दै आधिकारिकता दिएपछि यादवसमूह आक्रोशित थियो ।

वर्तमान सरकारमै बसेर प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सहकार्य गर्दै गठबन्धन ढाल्न यादव लागिपरेको सत्तारुढ दलका नेताहरुको आरोप छ ।

पालैपालो प्रधानमन्त्री बन्ने लोभमा यादव लागेर देउवासँग नयाँ गठबन्धन गर्न लागेको आरोप सत्तापक्षको थियो ।