पछिल्लो चार दिनमा १०० जनाभन्दा बढी आरोहीले गरे सगरमाथाको सफल आरोहण

खबर खुराक
३१ वैशाख २०८१

३१ वैशाख, काठमाडौं । पछिल्लो चार दिनमा १०० जनाभन्दा बढी आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । गएको शुक्रबारदेखि सोमबार (आज) बिहानसम्म उक्त संख्यामा आरोही सगरमाथाको शिखरमा पुगेका हुन् ।

“शुक्रबारयता कम्तीमा पनि १०० जनाभन्दा बढीले सगरमाथाको सफल आरोहण गरेका छन् । आरोहण गर्नेको विवरण आउने क्रम जारी छ, विवरण संकलन गर्ने कार्य भइरहेको छ । यो संख्या अझ बढ्छ,” पर्यटन विभागको सगरमाथा आधारशिविरस्थित फिल्ड कार्यालयका प्रमुख खिमलाल गौतमले जानकारी दिए ।

गएको शुक्रबार यो सिजनमा सगरमाथा आरोहणका निम्ति डोरी टाँग्ने (रोप फिक्सिङ) कार्य गरिएको थियो । डोरी टाँग्ने क्रममा शुक्रबार बेलुका ८ः१५ बजे १० जनाले सगरमाथाको सफल आरोहण गरेका थिए ।

सगरमाथा आरोहण गर्ने क्रममा कामीरिता शेर्पाले आफ्नो रेकर्ड आइतबार आफैँले ‘ब्रेक’ गरेका थिए । आइतबार बिहान ७ः२५ बजे उनले सगरमाथाको सफल आरोहण गरेका थिए । उनी २९औँपटक सगरमाथाको शिखरमा पुगेका हुन् । सबैभन्दा धेरैपटक सगरमाथाको आरोहण गर्ने रेकर्ड यसअघि पनि उनकै नाममा थियो ।

“२९औँपटक सगरमाथाको सफल आरोहण गरी सोमबार आधारशिविर फर्किनुभएका कामीरितालाई पर्यटन विभागको फिल्ड कार्यालयले सोमबार भव्य स्वागत गरेको छ,” गौतमले भने । कामीरिता शेर्पालाई फूलमाला र अबिर लगाई स्वागत गरिएको थियो ।

पयर्टन विभागका अनुसार, यो सिजनमा सगरमाथा आरोहण गर्नका निम्ति ४१ टिमका ४१४ जनाले स्वीकृति लिएका छन् । स्वीकृति लिनेमा ७५ महिला र ३३९ पुरुष छन् । उनीहरूलाई यो स्वीकृति गएको मार्च १ देखि मे ७ सम्मको अवधिमा दिइएको हो । सगरमाथा आरोहणको स्वीकृति दिएबापत सरकारले ५९ करोड २३ लाख पाँच हजार ८४९ रुपैयाँ राजस्व संकलन गरेको छ ।

उक्त अवधिमा नेपालका विभिन्न ३० हिमाल आरोहणका लागि ११२ टिमका ९७१ जनाले स्वीकृति पाएका छन् । स्वीकृति पाउनेमा २०२ महिला र ७६९ पुरुष छन् । विभिन्न हिमाल आरोहणको स्वीकृति दिएबापत उक्त अवधिमा सरकारले ६७ करोड ४७ लाख १४ हजार ६१ रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ ।