विश्वासको मत मात्रै माग्दिनँ, देशमा देखिएको निराशा चिर्न साथ र सहयोग मागेको छु : प्रधानमन्त्री

खबर खुराक
७ जेठ २०८१

७ जेठ, काठमाडौं । प्रधानमन्त्री पु्ष्पकमल दाहालले प्रतिनिधिसभा बैठकमा विश्वासको मत मागेका छन्। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहित विपक्षी दलहरूको नाराबाजीबीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।​​

विश्वासको मत लिनुपूर्व प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशमा देखिएको निराशा चिर्न साथ र सहयोग चाहेको बताएका छन्।

सोह्रौं आयोजनाका लक्ष्यहरू हासिल गर्न संसद र सरकारले धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारका दीर्घकालिन प्रतिबद्धताहरू सम्मानित संसदको साथ र सहयोग बिना पूरा हुन नसक्ने बताए। ‘आगामी दशक तीव्र विकासको दशक भनेका छौँ । त्यसका लागि बृहत छलफल र साझा राष्ट्रिय दृष्टिकोण चाहिएको छ,’प्रधानमन्त्री प्रचण्डले भने, ‘भारत र बङ्गलादेशससँग विद्युत् व्यापार सम्झौता भइसकेको र चीनसँग पनि निर्यातको सम्भावना बढिरहेका बेला गेमचेञ्जर ठूला विद्युत् आयोजनामा धेरै काम गर्न बाँकी छ ।’

उनले समष्टिगत आर्थिक परिसूचकहरू त सकारात्मक भए,तर अर्थतन्त्रलाई पूर्ण गतिशील बनाउन सरकार र संसदले एकीकृत प्रयास आवश्यक रहेको बताए।  ‘म आज यो सार्वभौम संसदसँग केवल विश्वासको मत माग्दिनँ, देशमा देखिएको निराशा चिर्न सार्थक साथ र सहयोग माग्छु,”प्रधानमन्त्री प्रचण्डले भने ,’लोकतन्त्रले जगाएको सामाजिक र राजनीतिक चेतनालाई लोकतन्त्रकै विरूद्ध प्रयोग गर्ने प्रयासविरूद्ध संसदको हस्तक्षेप माग्दछु ।’

सङ्घीयताको वास्तविक कार्यान्वयन र शान्ति प्रक्रियाको तार्किक निष्कर्षका लागि पनि आफूले विश्वास पाउनुपर्ने बताए। उद्यमशीलताका माध्यमबाट आर्थिक उन्नति र रोजगारीका लागि नीतिगत गाँठाहरू फुकाउन संसदको हस्तक्षेप गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले निरपेक्ष गरिबीको रेखामुनि रहेको ठूलो सङ्ख्यालाई सम्मानपूर्ण जीवनसम्म लैजान एकीकृत प्रयास आवश्यक रहेको औंल्याए।

व्यवहारिक र नीतिगत सुधारमा सरकारले लिएको अग्रसरताले लगानीकर्तामा एकदमै सकारात्मक प्रभाव परेको उल्लेख गर्दै प्रधानमन्त्रीले कतारका राजा, जापानका विदेशमन्त्री लगायतका उच्चस्तरीय भ्रमणबाट राष्ट्रको प्रतिष्ठा र अन्तर्राष्ट्रिय आयाम फराकिलो भएको बताए।

‘जलवायु परिवर्तनमा अब नेपालले पर्वतीय देशहरूका तर्फबाट विश्वव्यापी नेतृत्व गर्ने अवस्था बनेको छ,’प्रधानमन्त्री प्रचण्डले भने,’पर्यटक आगमनमा कीर्तिमान कायम भएको छ । रासायनिक मलदेखि पाठ्यपुस्तकसम्मको अभावका समाचार अब इतिहास भएका छन् ।’