प्रधानमन्त्री प्रचण्डले चौथोपटक पाए विश्वासको मत

खबर खुराक
७ जेठ २०८१

७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा चौथो पटक विश्वासको मत पाएका छन्। प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा भएको मतविभाजनमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएका हुन्। प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा १५७  मत खस्यो भने विपक्षमा शून्य मत खसेको छ। एक सांसद भने तटस्थ बसे। बैठकमा १५८ मत खसेको थियो।

सभामुख देवराज घिमिरेले उक्त मत सुनाएलगत्तै प्रधानमन्त्री प्रचण्डले बहुमत प्राप्त गरेको घोषणा गरे। जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन्।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागिरहँदा  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूले चर्को नाराबाजी गरेका थिए। संसदको कामकारवाही अघि बढाउन सभामुख घिमिरेले विपक्षी दलहरूलाई आग्रह गरेका थिए। तर,उनीहरू आफ्नो अडानबाट पछि नहटेपछि सभामुख घिमिरेले विपक्षी दललाई पेलेरै सदन अघि बढाएका थिए।

संसदीय छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले संसद अवरोध गरेपछि पहिलो बैठक १५ मिनेटका लागि स्थगित भएको थियो। त्यसपछि बसेको बैठकमा प्रधानमन्त्रीले विश्वासको मतका लागि सदनमा प्रस्ताव पेश गरेका थिए।

कांग्रेससहित विपक्षी दलहरूले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै बैठक अवरोध गरेका हुन्।

प्रचण्डले पछिल्लोपटक २०८० फागुन ३० गते विश्वासको मत पाएका थिए । प्रचण्डले आफूलाई प्रतिनिधिसभामा तेस्रो पटक विश्वासको मतका लागि पेश गरेको प्रस्तावको पक्षमा १५७  मत र विपक्षमा ११०  मत खसेको थियो। प्रधानमन्त्री प्रचण्डलाई नेकपा एमाले,माओवादी केन्द्र,रास्वपा, जसपा, नेकपा एकीकृत, नागरिक उन्मुक्ति र तीनजना स्वतन्त्र सांसद ( प्रभु साह,अमरेश कुमार सिंह र योगेन्द्र मण्डल) ले विश्वासको मत दिएका हुन्। कांग्रेस,राप्रपा,लोसपा,जनमतलगायतले मत दिएका थिएनन्।

प्रचण्डले त्यसअघि २६ पुस  २०७९ मा पहिलो पटक र  ६ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए। पहिलो पटक बैठकमा उपस्थित २७० सांसदमध्ये  २६८ जनाले प्रचण्डलाई मत दिएका थिए।  दोस्रो पटक बैठकमा उपस्थित २६२ सांसदमध्ये १७२ जनाले मत दिएका थिए।

गत २०७९ पुस १० गते कांग्रेसको गठबन्धन तोडेर एमाले नेतृत्वको गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका हुन्।