देशको गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट देखाउन गृहमन्त्रीलाई कांग्रेसको चुनौती

खबर खुराक
८ जेठ २०८१

८ जेठ, काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न रहेको दाबी गरेको छ। प्रतिनिधि सभाको बैठकमा कांग्रेसका सहमहामन्त्री एवम् सांसद बद्री पाण्डेले लामिछाने सदनमा पार्टीले उठाएको प्रश्नको साटो बर्बराउन थालेको बताएका हुन्।

उनले लामिछाने पार्टी उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापामाथि आरोप लगाएकाले छानबिन गर्न तयार रहेको बताए। लामिछानेले देशका गोप्य सूचना विदेशीलाई बेच्नेलाई एजेन्ट भनेर सांसदलाई आरोप लगाएकाले छानबिन गरी दोषी भए कारबाही गर्न र लान्छना लगाएको भए गृहमन्त्रीलाई कारबाही गर्न कांग्रेस पछि नपर्न आग्रह गरे।

सूचना बेच्ने एजेण्ट को हो भनेर देखाउन गृहमन्त्रीलाई चुनौती चुनौति दिए। पाण्डेले देखाउन नसके गृहमन्त्रीलाई ससद्बाट कांग्रेसले गलहत्याउने धारणा राखे।

लामिछानेले सदनमा सहकारी ठगी गर्नेलाई मात्र नभई , कृषि अनुदानको रकम हिनामिना गरेर कुखुरा, माछा, खसी बोका, बाख्रा पाल्नेमाथि पनि छानबिन गरेर संसद बाहिर पठाउनुपर्ने धारणा राखेका थिए।

‘दुई/तीन वटा नागरिकता बोक्नेलाई मात्र होइन, एउटै नागरिकता र पासपोर्ट बोक्ने, तर देशका गोप्य सूचना विदेशीलाई बेच्नेलाई एजेन्ट संसदबाट हटाऔं। त्यो देशको मन्त्री होस् वा पार्टीको महामन्त्री होस्।’ उनले भनेका थिए,‘संसदलाई लड्ने र भिड्ने थलो नबनाऔं।’

पाण्डेले संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने स्पष्ट पारे।