टी-२० विश्वकप

१० वर्षपछि आज विश्वकप खेल्दै नेपाली क्रिकेट टोली,पहिलो खेल नेदरल्यान्डविरुद्ध

खबर खुराक
२२ जेठ २०८१

२२ जेठ, बुटवल । आइसिसी टी-२० विश्वकप क्रिकेटमा नेपालले आज (मंगलबार) नेदरल्याण्ड्ससँग पहिलो खेल खेल्दै छ । आज साँझ अमेरिकाको ग्राण्ड प्राइरी क्रिकेट स्टेडियम डालसमा हुने दुई देशबीचको खेल नेपाली समयानुसार राति सवा ९ बजे शुरू हुनेछ ।

नेपालले १० वर्षपछि आज विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१४ मा विश्वकप खेलेको थियो । १० वर्षअघि नेपाली समूहको कप्तानी गरेका पारस खड्का हाल नेपाल क्रिकेट संघ (क्यान)को सचिव छन् । उक्त समयका एक मात्र टिम सदस्य सोमपाल कामी अहिलेको टिममा समावेश भएर खेल्दै छन् । नेपाली टिमको कप्तानी रोहति पौडेलले गरेका छन् ।

नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स छन् । नेपालले दोस्रो खेल ११ जुनमा श्रीलंकासँग खेल्नेछ । यी दुई खेल अमेरिकामा हुनेछन् । नेपालले बाँकी दुई खेल भने वेस्ट इन्डिजमा खेल्नेछ । जसअन्तर्गत नेपालले १४ जुनमा दक्षिण अफ्रिका तथा १६ जुनमा बंगलादेशसँग खेल्ने तालिका छ ।

नेपालले दक्षिण अफ्रिका र श्रीलंकासँग पहिलोपटक खेल्न लागेको हो । बंगलादेशसँग भने नेपालले सन् २०१४ को विश्वकपमै खेलेको थियो । नेदरल्याण्ड्सँग भने नेपालले पटकपटक म्याच खेलिसकेको छ ।  नेपाल हाल टी–२० अन्तर्राष्ट्रियको वरीयतामा १६औं स्थानमा छ । यस्तै, दक्षिण अफ्रिका छैटौं, श्रीलंका आठौं, बंगलादेश दसौं र नेदरल्यान्ड्स १२ औं स्थानमा छ ।

समूह ‘ए’ मा भारत, पाकिस्तान, आयरल्याण्ड क्यानडा र अमेरिका रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा इंग्ल्याण्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान परेका छन् । समूह ‘सी’ मा न्यूजिल्याण्ड, घरेलु टोली वेस्ट इण्डिज, अफगानिस्तान, युगाण्डा र पपुवा न्यूगिनी छन् । टी–२० विश्वकपमा पहिलोपटक २० टोलीले प्रतिस्पर्धा गर्दै छन् ।

नेपाली टिम : रोहित पौडेल ९कप्तान०, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, सन्दीप जोरा, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, सागर ढकाल, अभिनाश बोहोरा, ललित नारायण राजवंशी, प्रतिश जिसी, कमल सिंह ऐरी

अफिसियल : मोन्टि देशाइ (प्रशिक्षक), वसन्त शाही (सहायक प्रशिक्षक), नन्दन फाद्निस (क्रिकेट कन्सल्टेन्ट), रड एस्टविक (बलिङ कन्सल्टेन्ट), विक्रम न्यौपाने (फिजियो), रमण शिवाकोटी (एनालिस्ट), अब्दुल शतार (फिटनेस ट्रेनर), प्रदीप मजगैया (व्यवस्थापक), दिवाकर घले (टिम लिडर), होम नाथ पन्त (डाक्टर)