तालिकाअनुसार एमबिबिएस पढाइ सञ्चालन होस् : प्रधानमन्त्री

खबर खुराक
२३ जेठ २०८१

२३ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कार्यतालिकासहित एमबिबिएसको पढाइ अघि बढाउन निर्देशन दिनुभएको छ ।

प्रतिष्ठानको बुधबार भएको सातौँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षदेखि एमबिबिएस तहमा अध्यापन गराउन योजनावद्ध काम गर्न अनुरोध गर्नुभयो । व्यवस्थित रुपमा पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको मेडिकल कलेज सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका उल्लेख्य उपलब्धि हासिल हुने उहाँको अपेक्षा छ ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “चिकित्सा शिक्षाको स्नातकोत्तर तह सञ्चालनमा आएपछि यस प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने सरकारको अपेक्षा छ ।” भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा र समग्र देशका लागि दक्ष चिकित्सक उत्पादनमा प्रतिष्ठानले अनुकरणीय भूमिका निर्वाह गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले प्रतिष्ठानको विकास, विस्तार र उन्नयनलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले अर्थतन्त्रमा आएको दबाब र स्रोत विनियोजनमा आएको कठिनाइका बाबजुद स्वास्थ्य क्षेत्रलाई ध्यान दिइएको उल्लेख गर्नुभयो ।

पोखरेलीको गौरव यस प्रतिष्ठानलाई सफल पार्न सबैको सहयोगको अपेक्षा उहाँले गर्नुभयो । प्रतिष्ठान चिकित्सा शिक्षामा समग्र देशका लागि उदाहरणीय शैक्षिक संस्थाका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको गण्डकी क्षेत्रीय अस्पताल यो क्षेत्रकै ठूलो अस्पताल मानिन्छ ।