तिनाउमा वातावरण दिवस

खबर खुराक
२३ जेठ २०८१

विश्व वातावरण दिवसकाे अवसरमा तिनाउभित्र रहेका सामुदायिक वनका वर्तमान अवस्था विषयक् छलफल कार्यक्रम बुधबार दाेभानमा सम्पन्न भयाे । सामुदायिक वन समन्वय समिति, तिनाउले गत पुष २० देखि माघ २६ गतेसम्म तिनाउका ६ वटै वडाका ८४ वटा सामुदायिक र तीन वटा धार्मिक वनकाे अध्ययन,अवलाेकन र अनुगमन गरि प्राप्त समस्याहरुलाई समाधानका उपायहरुसहित अध्यक्ष दलबहादुर गुुरुङले प्रस्तुत गरेका थिए । उनले सामुदायिक वनकाे सञ्चालन र व्यवस्थापन जटिल बन्दै गएकाे परिवेश उल्लेख गर्दै तिनाउ गाउँपालिका, सम्बन्धित वडाहरु, डिभिजन तथा सवडिभिजन वन कार्यालय,उपभाेक्ता समूहहरु सबै सक्रियरुपमा आआफ्ना दायित्व पूरा गर्न लाग्नु पर्ने बताए । प्रमुख अतिथिका रुपमा रहेका तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउमा प्रशस्त वनजंगल भएपनि आम्दानीलाई राजस्वकाे रुपमा बाँध्न नसकिएकाे गुनासाे गरे । वन,वातावरण र जैविक विविधता संरक्षणका लागि सराेकारवाला संघसंस्थाहरुसँग हातेमालाे गरि आवश्यक बजेट विनियाेजन गर्न आफ्नाे पालिका तयार रहेकाे बताए । साथै तिनाउका वडा नं २ र ३ का महिला समूहहरुलाई वातावरण दिवसकाे अवसरमा संरक्षण शिक्षा, बैठक सञ्चालन र माईन्यूट लेखन सम्बन्धि तालिम समेत दिईएकाे समितिकी सदस्य हरिकला कुमालले बताईन् । तालिममा सहजीकरण संस्थाका अध्यक्ष दलबहादुर गुरुङ र महासचिव गणेश रास्काेटीले गरेका थिए । उक्त कार्यक्रममा सल्लाहकार राजेश श्रेष्ठ,वरिष्ठ उपाध्यक्ष प्रेम पाण्डेय, काेषाध्यक्ष विनाेद वस्याल लगायतले वातावरण प्रदूषित हुँदै गएकाे,जलवायु परिवर्तनकाे असर भाेग्न थालिएकाे र संरक्षणमैत्री विकासे याेजना तयार भएपनि कार्यान्वयन हुन नसकेकाे गुनासाे गरे । तालिममा सहभागीहरुका तर्फबाट निर्मला थापा,जमुना घर्ती,शिवकुमारी राना,विपना विक ,जानकी थापा लगायतले बैठक सञ्चालन र माईन्यूट लेखन तालिम प्रभावकारी भएकाे र आआफ्ना समूहमा कार्यान्वयन गर्ने प्रतिवद्वता समेत जनाएका थिए ।