चिनारी ढोलीमाराको पुस्तक विमोचन

खबर खुराक
२७ जेठ २०८१

बुटवल २७ । माया रानाद्वारा लिखित चिनारी ढोलीमाराको हिजो, आज र भोलि पुस्तक एक कार्यक्रमबीच ढोलीमाराको होमस्टेको सामुदायिक भवनमा विमोचन गरिएको छ ।
शयरी युवा क्लव ढोलीमाराको आयोजनामा भएको पुस्तक बिमोचन कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य माननीय खेमबहादुर सारुले पुस्तक विमोचन गर्नु भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सारुले पुस्तकमा ढोलीमाराको समग्ररुपमा कला सस्कृति, जातजाति, भेषभुषा, रहनसहन, शैक्षिक, सामाजिक, आर्थिक, रोजगारी, कृषि, पशु, पर्यटकीय क्षेत्र, अन्नबाली, जनसंख्या, होमस्टे भोलि गर्न सकिने र गर्नुपर्ने काम योजना लगायतका बारेमा प्रष्टरुपमा लेखिएको छ ।
यस पुस्तकले ढोलीमाराको ऐतिहासिक दस्तावेज बनेको भन्दै लेखक र प्रकाशकलाई धन्यवाद् दिनुहुँदै भोलि ढोलीमाराले गर्न चाहेको सबै खाले विकास निर्माणमा आफ्नो क्षेत्रबाट साथ सहयोग रहने प्रतिवद्धता गर्नुभयो ।
पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले यो पुस्तकले ढोलीमाराको मात्र नभएर पुर्वखोला गाउँपालिकाकै पुस्तक हो । यसले गर्दा पुर्वखोला गाउँपालिकाको चिनारीमा ठुलो सहयोग पुगेको छ । पुस्तक लेख्न धेरै खोज अध्ययन र अनुसन्धान मेहनत समय खर्च गर्नुपर्छ । माया रानाले पनि धेरै मेहनतका साथ पुस्तक लेख्नु भएको हो । अब थप पूर्वखोला गाउँपालिकाकै चिनारीको पुस्तक लेख्न सल्लाह दिनुहुँदै आवश्यक साथ सहयोग गाउँपालिकाले दिने बताउनुभयो ।
पुस्तकमाथि टिप्पणी गर्नु हँुदै साहित्यकार दलबहादुर गुरुङ र उद्बुद्ध मा.वि. का सहायक प्र.अ. सुशील न्यौपानेले पुस्तकमा सरल गाउँले भाषा प्रयोग भएको, पुस्तक भित्र १५ वटा विषयवस्तु समेटिएको जसमा ढोलीमाराको परिचयदेखि ऐतिहासिक पृष्ठभूमि सामाजिक, शैक्षिक, आर्थिक, रोजगारी, चुलीडाँडा पर्यटकीय क्षेत्र, कबुलियति वन, किवि खेती, ढोलीमाराको विकासमा जापानि नागरिक काजुमासा काकिमिले पुर्याएको योगदान, ढोलीमाराको भावी योजना र गीत कविता, फोटोहरु गरि जम्मा ६८ पेस समावेश रहेको छ ।

पूर्वखोला गाउँपालिकाका प्रवक्ता मेहर सिं थापा, जल्पा वडाका अध्यक्ष नीर बहादुर सारु, रिङनेरह वडाका अध्यक्ष कृष्णप्रसाद भट्टराई, शम्भु मा.वि.का प्र.अ. चित्रबहादुर कवँर, समाज उत्थान सहयोग केन्द्रका अध्यक्ष मोहनबहादुर रखाल , पुर्वखोला स्वास्थ्य शाखाका प्रमुख मोहन ढकाल, जल्पा स्वास्थ्य चौकीका प्रमुख पदम दर्लामि लगाएतले पुस्तकको बारेमा चर्चा गर्दै शुभकामना दिनुभयो ।

पुस्तक शयरी युवा क्लबको व्यवस्थापनमा चित्रबहादुर कवँर र भिमबहादुर आलेको सम्पादन श्रीधन कवँरको कम्प्युटर टाइपिङमा प्रकाशन गरेको हो ।

पुस्तकका लेखक माया रानाले आफ्नो पहिलो पुस्तक भएको हँुदा केही कमिकमजोरी भएको अवस्थामा टिप्पणीकारले उठाउनु भएको कमिकमजोरीलाई सच्याउने र पुस्तक लेख्न प्रकाश गर्न साथ सहयोग गर्नुहुने सबैलाई धन्यवाद् दिनुभयो ।