गुल्मीमा महिलालाई पञ्चेबाजा बजाउने तालिम दिइदै

खबर खुराक
८ असार २०८०

८ असार, गुल्मी । गुल्मीको मदाने गाउँपालिकाले स्थानीय महिलालाई पञ्चेबाजा बजाउन तालिम दिएको छ । आत्मनिर्भर बनाई स्वरोजगार बनाउने तथा परम्परागत रूपमा रहेको लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ सो तालिम महिलालाई प्रदान गरिएको हो ।

पञ्चेबाजा बजाउने सीप हस्तान्तरणसँगै संरक्षण गर्न मदाने गाउँपालिका र वडा –६ पुर्कोट दहको आयोजनामा मदाने आत्मनिर्भर महिला विकास समितिले सो तालिम महिलालाई प्रदान गरिएको हो । पुरुष मात्र होइन, महिला पनि हरेक काममा सक्षम र योग्य हुन्छन् भन्ने सन्देश दिनका लागि महिलालाई पञ्चेबाजा बजाउने तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

त्यसअवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सालिकराम पन्थीले परम्परागत रूपमा रहेको संस्कृति तथा लोकसंगितको जगेर्नाका लागि तालिम सञ्चालन गरिएको बताउनुभयो । महिलालाई तालिममा सहभागी बनाएर आत्मनिर्भर बनाउने भन्दै उहाँले सिकेको सीपलाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो ।

गाउँपालिकाका उपाध्यक्ष सरिता खड्काले गुल्मीमै पहिलो नयाँ खालको तालिम सञ्चालन भएको बताउनुभयो । यो तालिमलाई आगामी दिनमा थप प्रोत्साहन गरी प्रभावकारी बनाइने उहाँले चर्चा गर्नुभयो ।

गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरले यो तालिम नयाँ भएको भन्दै यसबाट सिकेको सीप अरूलाई पनि सिकाउन सहभागीलाई आग्रह गर्नुभयो । तालिममा सहभागीलाई यहाँबाट प्राप्त गर्नुभएका कला, सीप प्रयोग गरी संस्कृति संरक्षणसँगै आर्थिक रूपान्तरणको अभियानमा लाग्न जरुरी रहेको बताउनुभयो ।

दश दिनसम्म स्थानीयस्तरमा तालिम प्राप्त गर्न पाउँदा सहभागीहरू उत्साहित भएको बताउनुभएको छ ।  पञ्चेबाजा बजाउने तालिम राम्रो र प्रभावकारी भएको सहभागीहरूको भनाइ छ । समय अलि कम भएको गुनासो भए पनि आगामी दिनमा पनि पालिकाले यस्तो प्रकृतिको तालिम सञ्चालन गर्ने आशा गरेको सहभागी वसन्ता जिसीले बताउनुभयो ।

तालिममा एघार जना महिला सहभागी हुनुहुन्थ्यो । गाउँपालिकाद्वारा प्रोत्साहन र कोष खडा गर्न अभिप्रेरित गर्ने उद्देश्यले तालिममा सहभागीलाई तीन हजार रुपियाँ सहयोग प्रदान गर्ने गाउँपालिकाले जनाएको छ । तालिम अवधिभर रामचन्द्र सेवाले पञ्चेबाजा बजाउन प्रशिक्षण दिनुभयो ।