एमाले पाल्पाको संगठन विभागको बैठक सम्पन्न

खबर खुराक
१२ साउन २०८३

पाल्पा, १२ साउन । नेकपा एमाले संगठन विभाग पाल्पाको बैठक मंगलबार तानसेनमा सम्पन्न भएको छ ।

बैठकमा गाउँ कमिटीका अध्यक्षले पार्टीको वर्तमान अवस्था, सदस्यता नवीकरण लगायतका बारेमा रिपोर्टिङ गरेका थिए ।

पार्टीको केन्द्रबाट नै कार्यक्रम आउन पर्ने उनीहरूले बताए। यतिबेला जनताको बीचमा लैजाने एजेन्डा छैन । पार्टीले कार्यक्रम दिन ढिला गरेको सहभागीले बताए।

वडा तहका पदमा बसेका कतिपय जिम्मेवार व्यक्तिले इमानदार भएर काम गरेका छैनन् । एमालेले जितेका स्थानीय तहका जनप्रतिनिधिले समेत जनताको मन जित्ने गरी काम गर्न नसकेको बताए ।

सहभागी मध्य केहीले पार्टी केन्द्र देखि जिल्ला हुँदै टोल कमिटी पुनर्गठन गर्नुपर्ने बताए ।

बैठकमा प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य सरस्वती चिदीले सदस्यता नवीकरण गर्ने कार्यलाई तीब्र बनाउन अनुरोध गर्नुभयो । पार्टीलाई बलियो बनाउन सदस्यता नै प्रमुख भएको उहाँले बताउनुभयो । राष्ट्रिय राजनीति नै अन्योलमा छ । अहिलेको सरकारले पनि जनताको हितमा काम गर्न नसकेको बताउनुभयो । केन्द्रले के भन्छ भन्ने तर्फ लाग्नु भन्दा पनि जिल्लाका नेतृत्वले पार्टीको काम गर्नुपर्ने चिदीले बताउनुभयो । एमाले पार्टी नै मुलुक र जनताको हितमा काम गर्ने पार्टी भएको बताउनुभयो । मनोबल उच्च राखेर काम गर्न उहाँले भन्नुभयो ।

अहिले राष्ट्रिय राजनीति दुर्घटना जस्तै हो । आत्तिनु पर्दैन । अब फेरि पुरानै अवस्थामा राजनीतिले लय लिने उहाँले बताउनुभयो ।

एमाले केन्द्रीय लेखा आयोगका उपाध्यक्ष धनेन्द्रराज घिमिरेले पार्टी प्रदेश कमिटीले जारी गरेको अन्तर पार्टी निर्देशन बारे जानकारी गराउनुभएको छ । मिसन पार्टी जागरण अभियान संचालन गर्ने बताउनुभयो । पालिका र वडास्तरमा यो अभियान केन्द्रित हुने उहाँले बताउनुभयो । नेकपा एमाले प्रमुख शक्तिका रूपमा स्थापित हुने दाबी गर्नुभयो । नेतृत्वम एक मत एक मन भएर आउनुपर्ने बताउनुभयो । तल्लो तहमा नेता तथा कार्यकर्ता पार्टी प्रति बफादार रहेको घिमिरेले बताउनुभयो । पार्टी सदस्यता नवीकरण अभियानलाई प्रभावकारी बनाउन अनुरोध गर्नुभयो ।

लुम्बिनी प्रदेश सभा सदस्य खेमबहादुर सारूले चुस्त दुरुस्त र पारदर्शी भएर जनताको काम गर्नुपर्ने बताउनुभयो । अहिले सम्झौता गरेर अगाडि बढ्नुपर्ने अवस्था रहेको बताउनुभयो । जिम्मेवारी अनुसार काम गर्न सके पार्टी बलियो हुनेछ । पार्टी कमिटीको पुनर्संरचना गर्नुपर्ने उहाँले बताउनुभयो । प्रविधि मैत्री कमिटी निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश सांसद इन्द्रा गहतराजले केन्द्रीय पार्टी नेतृत्वले स्पष्ट निर्देशन दिन नसक्दा कार्यकर्तामा निरासा बढेको बताउनुभयो ।

संगठन विभाग अध्यक्ष रामजी पोखरेलको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकले यही साउन २२ गतेसम्म सदस्यता नवीकरण गर्न समय थप गरिएको एमाले पाल्पाका उपसचिव दीपक विश्वकर्माले बताउनुभयो ।