१२ बुँदे घोषणा पत्र जारी गर्दै सकियो प्रधानाध्यापक संघ नेपाल लुम्बिनीको साधारण सभा

खबर खुराक
११ साउन २०८३

मिलन विश्वकर्मा

पाल्पा, ११ साउन । प्रधानाध्यापक संघ नेपाल (पान) लुम्बिनी प्रदेशको तेस्रो साधारण सभा एवम् प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

यही साउन ९ र १० गते बुटवलमा सम्पन्न भएको सभाले १२ बुँदे घोषणा पत्र जारी गरेको छ ।

सबै जिल्ला र स्थानीय तहमा संस्थाको विस्तार र सञ्जाल निर्माण गर्ने भेलाले निर्णय गरेको छ ।  

आर्थिक पारदर्शिता बनाउनका लागि बैंक मार्फत कारोबार गर्ने, संथाका गतिविधिलाई प्रविधिमैत्री बनाउने, संघमा आवद्ध सदस्यहरूलाई डिजिटल सम्बन्धी क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रम सञ्चालन गर्ने घोषणा पत्रमा उल्लेख रहेको अध्यक्ष हरिप्रसाद घिमिरेले बताउनुभयो ।

प्रधानाध्यापकको माग अनुसार नियमित पेशागत विकास कार्यक्रम र भावी शैक्षिक नेतृत्वका लागि व्यक्तिको नेतृत्व गर्ने सीपका कार्यक्रम सञ्चालन गर्ने बताइएको छ ।

तीनै तहका सरकार र गैरसरकारी संस्था र विश्व विद्यालयसँग समन्वय र सहकार्य गर्ने, एकीकृत पाठ्यक्रम र निरन्तर मुल्यांकनलाई प्रभावकारी कार्यान्वय गर्दै सिकालाई जीवनपयोगी र व्यवहारिक बनाउन प्रधानाध्यापकको नेतृत्व सुदृढीकरण गर्ने घोषणा पत्रमा उल्लेख छ ।

विद्याय, समाज र राष्ट्रमा सकारात्मक सोंच, असल चरित्र, उत्तरदायित्व र अनुशासनको सकारात्मक बुझाई विकास गर्न सचेतना अभियान सञ्चालन गरिनेछ ।

उत्कृष्ट शिक्षण, विद्यालय व्यवस्थापन, सिकाइ उपलब्धीमा उल्लेखनीय योगदान गर्ने विद्यालय, विद्यार्थी तथा प्रधानाध्यापकलाई सम्मान तथा पुरस्कृत गरिनेछ ।


प्रधानाध्यापक संघ नेपाललाई अनुसन्धानमुखी, पेशागत संस्थाका रुपमा विकास गर्न सम्पूर्ण सदस्य प्रतिबद्ध रहेको घोषणा पत्रमा उल्लेख गरिएको छ ।  

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय समिति सदस्य मधुसुधन पोखरेलले नेपालको विद्यालय शिक्षालाई गुणस्तरीय, प्रविधिमैत्री, समावेशी तथा परिणाममुखी बनाउनुपर्ने बताउनुभयो ।  

सोही अवसरमा पान प्रदेश समितिलाई पुनर्गठन गरिएको छ । ज्ञानोदय मावि बुटवलका प्रधानाध्यापक टिकाराम शर्मा पौडेललाई पान रुपन्देहीको अध्यक्षमा मनोनित गरिएको छ । नहरपुर माध्यामिक विद्यालयका प्रधानाध्यापक धनिश्वर गौतमलाई सल्लाहकार र बुटवल माध्यमिक विद्यालयका प्रधानाध्यापक होमबहादुर रायमाझीलाई प्रदेश सदस्यमा चयन गरिएको पान प्रदेश अध्यक्ष घिमरेले बताउनुभयो ।

साधारण सभामा ११ जिल्लाका कार्य समितिका ३०जनाको सहभागी रहेको थियो । कोषाध्यक्ष सिर्जना पन्डितले आर्थिक प्रतिवेदशन प्रस्तुत गर्नुभएको थियो ।

उपाध्यक्ष कुलराज पौडेलले शैक्षिक प्रतिवेदन र अध्यक्ष हरिप्रसाद घिमिरेले पानको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बर्दियाका अध्यक्ष कुमार प्रसाद साकोटाले शिक्षामा ए आईको प्रयोग (Use of AI in education) बारे प्रशिक्षण दिनुभएको थियो ।

संघका अध्यक्ष हरिप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव होमराज खड्काले प्रशिक्षणसहित कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।