सहिद बहुमुखी क्याम्पस रामपुरको ३४औं वार्षिकोत्सब सम्पन्न
शोभाकान्त पाठक
पाल्पा, १६ माघ । सहिद बहुमुखी क्याम्पस रामपुरको ३४औं वार्षिकोत्सब कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य तथा अर्थ उद्योग तथा पर्यटन समिति सभापति राजुप्रसाद श्रेष्ठले यस क्याम्पस पूर्वी पाल्पाको मात्र नभई गण्डकी प्रदेशको स्याङ्जा, तनहुँ र नवलपुरको लागि पनि गौरव गर्न लायक क्याम्पस भएको बताउनुभयो । समग्र कालीगण्डकी उपत्यकाको विकास गर्दै रामपुरलाई शैक्षिक हब तथा व्यापारिक केन्द्रको रूपमा विकास गर्नुपर्ने बताउनुभयो । सबै पक्ष एक भएर अगाडि बढ्ने हो भने रामपुरलाई शिक्षा र स्वास्थ्यको हबको रुपमा विकास गर्न सकिने बताउनुभयो ।
श्रेष्ठले क्याम्पसमा छात्रबास निर्माणका लागि गतबर्ष लुम्बिनी प्रदेश सरकारले २० लाख बजेट विनियोजन गरएको छ । अहिले कार्यान्वयनको चरणमा रहेको उहाँले बताउनुभयो।
कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले गहनाको रूपमा रहेको यस क्याम्पसको थप विकास विस्तार गर्नुपर्ने बताउनुभयो । आफू निर्वाचित भएर आएपछि रामपुर नगरपालिकाको तर्फबाट २ करोड बढी आर्थिक सहयोग गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा रामपुर नगरपालिकाकी पूर्व उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, क्याम्पस संचालक समितिका पूर्व अध्यक्ष देवराज ढकाल ,नेपाली काँग्रेस रामपुर नगर कार्यसमिति सभापति नेत्रप्रसाद भट्टराई, नेकपा एमाले रामपुर नगरकमिटी उपाध्यक्ष अशोक श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टी रामपुरका सहसंयाेजक लक्ष्मी ढकाल, राष्ट्रिय जनमोर्चा रामपुरका प्रतिनिधि पदमबहादुर पौडेल, रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्साल, पृथ्वी टेलिभिजन रामपुरका स्टेशन प्रबन्धक कृष्ण पौडेल, सहिद बहुमुखी क्याम्पस प्राध्यापक संघका एकाई सभापति शारदाप्रसाद पाण्डेले शुभकामना दिनुभएको थियो ।
यसैगरी सहिद बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति राजन गौतम ,अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष मनिस आचार्य, नेपाल विद्यार्थी संघ क्याम्पस एकाई समिति सभापति आकाश भट्टराई, अनेरास्ववियु क्रान्तिकारी क्याम्पस कमिटी अध्यक्ष विमल क्षेत्री लगायतले शुभकामना दिनुभयो ।
क्याम्पसका अध्यक्ष रामप्रसाद ढकालले प्राविधिक शिक्षा, संकाय थप गर्ने र छात्रबास निर्माण गर्ने तयारी भइरहेको बताउनुभयो ।
कोषाध्यक्ष यमबहादुर सुनारले ३ करोड ७१ लाख ८९ हजार ५५७ रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गर्नुभएको थियो ।
क्याम्पस प्रमुख मुरारीप्रसाद काफ्लेले क्याम्पसमा विद्यार्थीलाई आवतजावतमा सुविधा दिनका लागि बसको खरिद प्रक्रिया बढाएको बताउनुभयो ।
वार्षिकोत्सबको अवसरमा आयोजित खेलकुद प्रतियोगितामा विजेता विद्यार्थीहरूलाई नगदसहित प्रमाणपत्र र मेडलले पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा स्नातकोत्तर तहमा २०८० सालबाट २०८२ सालसम्म पास हुने ६७ जना विद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।
क्याम्पस संचालक समिति अध्यक्ष रामप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
उपाध्यक्ष सुकदेव पोखरेलले स्वागत गर्नुभएको कार्यक्रममा र प्राध्यापक सुर्यप्रसाद घिमिरे र ध्रुवप्रसाद पोखरेलले संचालन गर्नुभएको थियो ।
२०४८ सालमा यहाँका समुदाय मिलेर क्याम्पस स्थापना गरेका हुन् । क्याम्पसमा स्नातकोत्तर तहसम्म शिक्षा र व्यवस्थापन संकायमा पठनपाठन हुन्छ । स्नातक तहमा मानविकी, व्यवस्थापन र शिक्षा संकायमा पठनपाठन भइरहेको छ । क्याम्पसमा हाल ७५७ जना विद्यार्थी अध्ययनरत छन् । स्नातक तहमा ६७४ र स्नातकोत्तर तहमा ८३ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।



प्रतिक्रिया दिनुहोस