शुभमका संस्थापक मदन राईमाथि अदालतमा मुद्दा : आफ्नो लुगा फुकालेर अंग देखाउदै यौन शिक्षा

खबर खुराक
२२ जेठ २०८० ५:५७

२२,जेठ।

खोटाङको दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन (शुभम)’का संस्थापक मदन राईले बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोग लगाउँदै सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको छ। मदन राईविरूद्ध सरकारी वकिल कार्यालयले आइतबार मुद्दा दायर गरेको खोटाङ जिल्ला अदालतका श्रेष्तेदार रामाकान्त यादवले जानकारी दिए। राईको थुनछेक बयान भोली नै सुरू हुनेछ।  ‘आज ढिलो गरी मुद्दा दर्ता भएकाले यो मुद्दाका प्रतिवादी मदन राईको थुनछेक बयान भोलिदेखि मात्र सुरू हुन्छ। बयान सकिएपछि बहस हुन्छ। त्यतिन्जेल उहाँ न्यायिक हिरासतमा हुनुहुनेछ,’ उनले भने। मुद्दाका अभियुक्तलाई थुनामा राखेर मुद्दा अघि बढाउने कि धरौटी वा साधारण तारेखमा छोडेर भन्नेबारे हुने बहसलाई थुनछेक बहस भनिन्छ।

खोटाङ जिल्ला सरकारी वकिल कार्यालयकी प्रमुख संगिता न्यौपानेका अनुसार राईले बालबालिका ऐनको दफा ६६ को उपदफा ३ बमोजिमका विभिन्न कसुर गरेका छन्। ‘मदन राईले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क), (ग,) (ङ) कसुर गरेकाले, दफा ६७, दफा ७२ र ७५ को ३ (ख) अनुसार सजाय गर्न माग गरेका छ।

ती व्यवस्था अनुसार बालबालिकाका अगाडि अश्लील तथा यौनजन्य आचरण वा व्यवहार झल्कने अभिव्यक्ति वा हाउभाउ प्रदर्शन गर्ने कार्यलाई बाल यौन दुर्व्यवहार गरेको मानिन्छ। त्यस्तै यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दबाब दिने वा धम्काउने कार्यलाई पनि बाल यौन दुर्व्यवहार गरेको मानिन्छ। यौनजन्य मनसायले शरीरको संवेदनशील अंगमा स्पर्श गर्ने, चुम्बन गर्ने, समाउने, अंकमाल गर्ने वा आफ्नो वा अरू कसैको शरीरको संवेदनशील अंग छुन वा समाउन लगाउने वा यौनजन्य मनसायले बेहोस पार्ने वा यौनजन्य अंग प्रदर्शन गर्ने वा गर्न लगाउने कार्य पनि कानुनले यौन दुर्व्यवहार भनेको छ।

सरकारी वकिल अनुसार राईले यस्ता कसुर गरेकाले ७५ को उपदफा ३ (ख) अनुसार ७५ हजार रूपैयाँ जरिवाना र ३ वर्षसम्म कैद सजाय माग गरिएको हो। राईलाई पक्राउ गरेर अनुसन्धान थालेको २५ दिनका दिन प्रहरीले सरकारी वकिल कार्यालय समक्ष अनुन्धान प्रतिवेदन पेश गरेको हो। राईले आफूलाई पटकपटक यौन दुर्व्यहार गरेको भन्दै दिक्तेल- ४ जाहेरी दिएकी थिइन्।

उनी सात वर्षदेखि शुभम फाउन्डेसनमा बस्दै आएकी थिइन्। फाउन्डेसनमा बस्दा मदन राईले आफूमाथि पटकपटक ज्यानमा हात हाल्ने, यौन सम्पर्क गर्न सिकाइदिन्छु भन्ने, आफ्ना गुप्तांग देखाएर छुन लगाउने, ज्यान मालिस गर्न लगाउने लगायत कार्य गरेको उनको आरोप छ। फाउन्डेसनका संस्थापक समेत रहेका ७५ वर्षीय मदनले आफ्ना संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले सेतोपाटीसँग बताएका थिए। यसबारे सेतोपाटीले वैशाख २८ गते स्टोरी प्रकाशन गरेको थियो। कृषि विज्ञका रूपमा परिचित मदन राईले आफैंले खोलेको ‘शुभद्रा मदन फाउन्डेसन’ मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेका तथ्यहरू फेला परेका छन्।

फाउन्डेसनका संस्थापक समेत रहेका ७५ वर्षीय मदनले उनीहरूका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले हामीलाई बताएका छन्।हामीले खोटाङस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम) मा पढ्ने र पढाउने शिक्षक र विद्यार्थी समेत गरेर दस जनासँग कुरा गरेका छौं। यीमध्ये केहीलाई हामीले दिक्तेलस्थित स्कुलमै गएर कुरा गरेका थियौं भने केहीसँग काठमाडौंमा भेटेर।

शुभम फाउन्डेसनले खोटाङको जनजागृति उच्च माध्यमिक विद्यालय व्यवस्थापन र सञ्चालन गर्दै आएको छ। यो सामुदायिक स्कुल हो। स्कुलको सहमतिमा नौ वर्षअघि फाउन्डेसनले यसको जिम्मा लिएको हो। त्यहाँ अध्ययनरत अधिकांश विद्यार्थी फाउन्डेसनकै होस्टलमा बस्छन्। त्यहाँ बस्ने पूर्व शिक्षक तथा मेन्टरहरूले पनि मदन राईले किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको पुष्टि गरेका छन्। मदनको दुर्व्यवहार खेपिरहेका सो स्कुलमा अध्ययनरत तीन जना किशोरी, उनको दुर्व्यवहारकै कारण स्कुल छोडेका तीन किशोरी, पूर्व शिक्षकहरू तथा कर्मचारीसँग हामीले कुराकानी गरेका छौं।

हामीले तथ्यहरूको खोजी गर्ने क्रममा तीन वर्षअघि भएको एउटा कार्यक्रममा उनले विद्यार्थीका अगाडि लुगा फुकाल्दै गरेको भिडिओ, केही महिनाअघि मात्र चार जना बालिकालाई राखेर पटकपटक अश्लील शब्दहरू बोलेको भिडिओ र स्कुलभरि पढ्ने विद्यार्थी जम्मा पारेर अश्लील अभिव्यक्ति र हाउभाउ देखाएको भिडिओ संकलन गरेका छौं।

मदनले स्कुलमै पढ्ने एक बालिकालाई शरीर मालिस गर्न लगाउँदै गरेको भिडिओ पनि हामीले भेटेका छौं। हामीसँग कुरा गरेकी अर्की बालिकाले पनि मदनले उनको शरीर मालिस गर्न लगाउने गरेको बताएकी छन्। यी छुट्टाछुट्टै भिडिओ क्लिपहरूको संकलन हामीसँग सुरक्षित छ। यो स्टोरीमा हामीले ती भिडिओका केही अंश भने सम्पादन गरेर राखेका छौं।

हामीसँगको कुराकानीमा ६ जना किशोरीहरूले उनीहरूमाथि मदनले गरेको यौन दुर्व्यवहारबारे विस्तृतमा बताएका छन्। दुर्व्यवहारमा परेका बालिका तथा किशोरीहरूको नाम परिवर्तन गरी हामीले दिक्तेल-१, दिक्तेल-२, दिक्तेल-३, दिक्तेल-४, दिक्तेल-५ र दिक्तेल-६ राखेका छौं। ती ६ जनाको बयान हेरौं।

म शुभम फाउन्डेसन आएको चार वर्ष भयो। म पश्चिम नेपालको एक जिल्लाबाट आएकी हुँ। मेरो पहिलेको स्कुलको शिक्षकले यहाँ राम्रो पढाइ हुन्छ भनेपछि बुवाले मलाई लिएर आउनुभएको हो। शुभममा बिहान ६ बजेदेखि एसेम्ब्ली हुन्छ। त्यहाँ शारीरिक व्यायाम हुन्छ। कहिलेकाहीँ मदन बाजे (मदन राई) भाषण गर्नुहुन्छ।

म आएको एक महिना पनि भएको थिएन। एक दिन बाजेले भाषण गर्दागर्दै आफूले लगाएको ट्राउजर र कम्मरमुनिका सबै लुगा फुकाल्नुभयो। एसेम्ब्लीमा उभिएका सबै विद्यार्थीले लाज र डरले उँधो मुन्टो लगाए। बाजेले उल्टै किन लजाएको भनेर गाली गर्नुभयो। मलाई त त्यो दिन सम्झेर अहिले पनि दिक्क लाग्छ।

हामी एकपटक सहरी सिकाइका लागि काठमाडौं (ललितपुर) गयौं। सहरी वातावरणमा सिक्नुपर्ने कुरा सिकाउन तीन महिनाका लागि ललितपुरको ढोलाहिटिमा रहेको बाजेको घर ल्याइन्छ। त्यहाँ चिया, खाजा, खाना पकाउने, घर सफा गर्ने, बारी खन्ने लगायतका काम गर्नुपर्छ।तीन महिना त्यहाँ बसेर हामी खोटाङ फर्किएका थियौं। एकपटक म पाँच महिनासम्म मिन्स (महिनावारी) भएकी थिइनँ। यो कुरा बाजेलाई थाहा थियो। किनभने बाजेले हामी सबैको मिन्स भयो कि भएन भनेर सोध्नुहुन्छ। एक दिन उहाँको कोठा सफा गर्न अरू दुई केटा साथीहरूसँग म पनि गएकी थिएँ। बाजेले ‘तँ मिन्स भएकी छैनस् अझै? भुँडी बोकिस् कि क्या हो!’ भन्नुभयो।

आजभन्दा तीन महिनाअघिको कुरा हो। म किचन विभाग अन्तर्गत गेस्टरूम सफा गर्ने काममा परेकी थिएँ। गेस्टरूम भनेको बाजेको कोठा हो। म र साथी (दिक्तेल २) मिलेर कोठा सफा गर्न गएका थियौं। त्यो बेला बाजेले हामीलाई ‘तिमीहरूले अब मेरो ख्याल गर्नुपर्छ’ भन्नुभयो। त्यति मात्र होइन, उहाँले ‘अब तिमीहरू म सँगै सुत्नुपर्छ’ पनि भन्नुभयो।

त्योभन्दा अघि एक जना दिदीले उहाँको ख्याल गर्नुहुन्थ्यो अरे। अब हामीले ख्याल गर्नुपर्ने अरे। ‘ऊ त गइहाली, मैले उसलाई सेक्स गर्न सिकाएको थिएँ। मसँगै सुत्थी। अब तिमीहरूलाई म सिकाउँछु। यस्तो कुरा जानी पनि राख्नुपर्छ’ भनेर बाजेले भन्नुभयो। उहाँले यसो भनेको दिनदेखि मलाई यहाँ डर लाग्छ।

म सहरी सिकाइमा काठमाडौं (ललितपुर ढोलाहिटिस्थित मदन राईको घर) गएका बेला उहाँलाई चिया पुर्‍याउन जाँदा उहाँले मेरो छाती समात्नुहुन्थ्यो। ‘तेरो छाती बढ्ने बेला भएको छ, मैले समातिदिएँ भने बढ्छ, केही हुँदैन’ भनिरहनुहुन्थ्यो। म भाग्थेँ।

तर तीन महिनाअगाडि उहाँले हामीलाई ‘सेक्स गर्न सिक्नुपर्छ, म सिकाइदिन्छु’ भन्नुभएपछि भने झन् डर लागेको छ। उहाँको कोठा सफा गर्न म र साथी (दिक्तेल १) गएका थियौं। त्यो बेला बाजेले हामीसँग शुभम छाडेर गएको एक जना दिदीको बारेमा सुनाउनुभयो। ‘उसले मेरो ख्याल गर्थी। मसँग सुत्थी। उसलाई मैले सेक्स गर्न पनि सिकाएको थिएँ। अब तिमीहरूले मसँग सुत्नुपर्छ, म सेक्स गर्न सिकाउँछु’ भन्नुभयो। हामी त  उभिएर चुपचाप सुन्यौं। डरायौं पनि। त्यो दिनदेखि एकदम डर भइरहन्छ।

म फाउन्डेसनमा आएको एक-दुई महिना मात्र भयो। यहाँ वातावरण राम्रो छैन भन्ने मलाई थाहा भइसक्यो। मलाई त मेरा आफन्तले यहाँ राम्रो पढाइ र सिकाइ हुन्छ भनेर पठाएका हुन्। साथीहरूको कुरा सुन्दा डर लाग्छ। त्यसमाथि एक-दुई पटक त मलाई नै अप्ठ्यारो परिसक्यो।केही समयअगाडिको कुरा हो। शुभममा गेस्टहरू आएका थिए। मदन बाजेले उहाँहरूलाई स्कुल देखाउँदै हुनुहुन्थ्यो। मेरो साथीहरूसँग म कोठामै बसेकी थिएँ।

एक छिनपछि बाजे एक्कासि हाम्रो ढोकामा आउनुभयो र ‘तिमीहरूको यौनांग देखाऊ त कस्तो रहेछ, हेरम्’ भन्नुभयो। छातीबारे पनि सोध्नुभयो। हामी त डरले एकै ठाउँमा टाउको निहुर्‍याएर बस्यौं। बाजे जतिखेरै छाडा बोल्नुहन्छ। के के सोधिराख्नुहुन्छ।

चार वर्षअगाडिको जाडो महिनामा म, दिक्तेल ५ र अर्की एक साथी गरी तीन जना सहरी सिकाइका लागि ललितपुर बाजेको घरमा गयौं। यहाँ हामीले बिहानदेखि बेलुकासम्म बाजेको घरबारीको काम गर्नुपर्थ्यो। भान्साको काम, घर, लुगा, भाँडा सफा गर्ने काम हाम्रो हुन्थ्यो। घरको काम भ्याएर बारीको काम गर्नुपर्थ्यो। यति मात्र होइन, बाजेको सेवा पनि गर्नुपर्थ्यो। यही बेला बाजेले मनपरी गर्नुहुन्थ्यो।

हामीले उहाँको शरीर मालिस गर्नुपर्थ्यो। त्यो बेला बाजेले आफ्नो लुगा फुकालेर सबै अंग देखाउनुहुन्थ्यो। अपशब्दले चिनाउनुहुन्थ्यो। हामीलाई ती अंग छुन पनि भन्नुहुन्थ्यो। त्यसैले बाजेका अगाडि एक्लै जान मलाई डर लाग्थ्यो। उहाँको कोठामा मालिस गर्न जाँदा म र अर्की एक साथी जान्थ्यौं।

एक दिन बाजेको कोठामा पर्दा लगाउनुपर्ने थियो। उहाँ मस्त निदाउनुभएको थियो। त्यसैले पर्दा लगाउने काम सकिहाल्छु भनेर म साथीहरूलाई तल्लो फ्ल्याटमै छोडेर उहाँको कोठा गएँ। ढुक्क भएर पर्दा मिलाउँदै थिएँ। अकस्मात पछाडिबाट बाजेले मेरो दाहिने ब्रेस्टमा समात्नुभयो। म केही बोल्न त सकिनँ। एकछिन पछि झट्कारेर फुत्किए। अनि भागेँ। तल आएर दुवै साथीलाई बाजेले यस्तो गर्नुभयो भनेर सुनाए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *