म्याग्दीको खयर ताल

खबर खुराक
१९ साउन २०८०

१९ साउन, म्याग्दी । वरिपरी सेताम्मै हिमाल । तालदेखि माथि अन्नपूर्ण हिमाल ठिङ्ग उभिए जस्तो देखिन्छ । हरियाली डाँडाकाँडा र मनोरम वातावरण । हिमालको फेदीमा सुन्दर र आकर्षक खयर ताल । ताल पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदैछ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित खयरलेकमा रहेको खयर ताल चार हजार ६३० मिटरको उचाइमा अवस्थित छ । तालको क्षेत्रफल १० हजार वर्गमिटर छ ।  तालको छेवैमा खयरभारानी थान रहेको छ । पर्यटकीय स्थल खोप्रबाट करिब सात घण्टाको पैदल यात्रापछि खयर तालमा पुग्न सकिन्छ ।

प्राकृतिक हिसाबले खयर क्षेत्र सुन्दर छ । खयर क्षेत्रबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खला आँखै अघि देख्न सकिन्छ । तालको पानी कहिल्यै सुक्दैन तर पानीको मूल पनि देखिँदैन ।