तनहुँका विधार्थिले कक्षामै नौमती सिक्दै, बजाउँदै र नाँच्दै

खबर खुराक
६ भदौ २०८० ११:५४

६ भदौ, तनहुँ । व्यास नगरपालिका-१० स्थित शिव माध्यमिक विद्यालयका केही शिक्षक र विद्यार्थी हिजोआज नियमित कक्षा लिनाका अलावा विद्यालयमा बाजा बजाउँदै नाचगान गरिरहेका भेटिन्छन्।

विद्यार्थीलाई जीवनोपयोगी शिक्षा दिन विद्यालयले नौमती बाजा बजाउने तालिम दिएपछि अहिले विद्यालयका छ विद्यार्थी, सोही संख्यामा शिक्षक र तीन अभिभावक गरी १६ जना नियमित नौमती बाजा बजाउने अभ्यासमा व्यस्त हुने गरेका छन्।

गत साउन १८ गतेदेखि बागलुङका नौमती बाजा प्रशिक्षक प्रकाश थापाले दमाहा, सहनाई, नरसिंहा, ढोलक, झ्याली, ट्याम्को बजाउने तालिम दिएपछि सहभागी बजाउन सक्ने भएका हुन्। तालिम पहिलो चरणमा एक महिनासम्म सिकाइने विद्यालयले जनाएको छ।

‘यति छिट्टै बजाउन सकिएला भन्ने लागेको थिएन’, तालिमको दौरान ट्याम्को बजाउँदै गरेका कक्षा १० का विद्यार्थी आश्रुत लामिछानेले भने, ‘सुन्दा आनन्द लाग्ने धुन निकाल्न बढी नै मेहनत चाहिने रहेछ।’

नौमती बाजा बजाउने तालिममा लामिछानेसहित कक्षा ७ का साहिल नेपाली, सफल विक, कक्षा ८ का पुरन थापा, सुमन नेपाली र निम दोर्जे शेर्पा, शिक्षकहरू नेत्रबहादुर दरै, सञ्जीता दरै, शान्तिकुमारी दरै, रमा दरै, अस्मिता आले, भरतबहादुर श्रेष्ठ र गोपाल थापा, अभिभावकहरुमा नेत्रप्रसाद पौडेल, दुर्गा सापकोटा र विद्यालय व्यवस्थापन समिति अध्यक्ष विकास रिजाल रहेका छन्।

आफूले तालिममा सहभागी विद्यार्थी, शिक्षक र अभिभावकलाई नौमती बाजाको ताल र चरणका बारेमा जानकारी गराएको प्रशिक्षक थापाले बताए। सहभागीले सबै बाजा बजाउन १० दिनमै सिके पनि सहनाइ र नरसिंहा बजाउन भने करिब तीन महिनाको समय लाग्ने प्रशिक्षक थापाको भनाइ छ।

‘तालिममा सहभागीहरूले निकै अभिरुचिका साथ बाजा बजाउन सिक्नुभएको छ’, प्रशिक्षक थापाले भने, ‘सहनाई र नरसिंहा बाजा बजाउन भने अझै समय लाग्छ।’ यसअघि आफूले विभिन्न समुदायलाई नौमती बाजा बजाउने तालिम दिए पनि विद्यालय स्तरका बालबालिका, शिक्षक र अभिभावकलाई तालिम दिएको यो दोस्रो भएको प्रशिक्षक थापाले बताए।

विद्यालयस्तरकै बालबालिकालाई यसरी नौमती बाजा बजाउन सिकाउनुले संस्कृतिको संरक्षणमा टेवा पुग्ने आफूले ठानेको उनले बताए।

नियमित कक्षालाई असर नपर्ने गरी अतिरिक्त कक्षाका रूपमा आफूहरुले विद्यार्थी, शिक्षक र केही अभिभावकलाई नौमती बाजा बजाउने तालिम प्रदान गरेको विद्यालयका प्रधानाध्यापक चन्द्रमणि कोइरालाले जानकारी दिए।

लोप हुँदै गएको बाजालाई विद्यालय तहबाटै संरक्षण गर्नुपर्ने ठानेर आफूहरुले एक महिने तालिम दिएको उनको भनाइ छ।

तालिममा सहभागीले बाजा बजाउन सिकेर नौमती बजाउन इच्छुक अन्य विद्यार्थीलाई समेत सिकाउँदै लैजाने योजना विद्यालयको रहेको प्रधानाध्यापक कोइरालाले बताए।

नौमती बाजाका अलावा विद्यालयले नृत्य शिक्षकसमेत राखेर विद्यार्थीलाई नृत्य प्रशिक्षण दिँदै आएको जनाएको छ। नौमती बजाउने तालिमका लागि करिब एक लाख रुपैयाँ खर्च हुने विद्यालयले जनाएको छ।

‘नौमती बाजा लोप हुँदै गएको छ, अब विद्यालय तहबाटै संरक्षण गर्नुपर्छ भनेर नै हामीले तालिम प्रदान गरेका हौँ’, उनले भने, ‘यो तालिम दिएपछि सबैतिरबाट अहिले सकारात्मक प्रतिक्रियाले झनै हौसला मिलेको छ।’

तालिममा सिकेका सीपलाई व्यवहारमा लागू गर्न आफूहरुले तिहारमा खेलिने देउसीभैलो, विभिन्न सांस्कृतिक पर्व र विद्यालयका अतिरिक्त क्रियाकलापमा विद्यार्थीबाट नौमती बजाइने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिजालले बताए। उक्त विद्यालयमा हाल दुई सय १२ विद्यार्थी र २१ शिक्षक कार्यरत छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *