आइसीसी महिला टि–ट्वान्टी विश्वकप छनोट : नेपाल र बहराइन भिड्दै, बहराइनले नेपाललाई दियो ३२ रनको लक्ष्य

खबर खुराक
१५ भदौ २०८०

१५ भदौ, काठमाडौँ । आईसीसी टीट्वान्टी महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले बहराइनबाट ३२ रनको लक्ष्य पाएको छ । टस जिती पहिलो ब्याटिङको निणर्य लिएको बहराइनले १५.४ ओभरमै अलआउट हुनुअघि ३१ रनमात्र बनाउन सक्यो ।

नेपाली बलरले खेलको प्रारम्भदेखि नै बहराइनका ब्याट्रलाई दबाबमा राखेका थिए । बहराइनलाई सस्तोमा समेटन नेपाली टोलीकी बलर इन्दू वर्माले तीन विकेट लइन् । उनले चार ओभर बलिङ गर्दै दुई मेडन राखेर केवल पाँच रन खर्चिएकी थिइन् । खुसी डंगोलले दुई विकेट हात पारिन् । उनले १.४ ओभर बलिङ गर्दै एक रन पनि दिइनन् । कविता कुँवर, पूजा महतो र रुविना क्षेत्रीले पनि एक—एक हात पारे । बहराइनका लागि कप्तान दीपीका रसनगिकाले ११ रन बनाइन् । इशारा सुहुनले पाँच रन जोडिन् ।

आशा सामिलदिनले पनि पाँच रन बनाइन् । ओपनर थारंगा गजानायके चार रनमै पेभेलियन फर्किइन् । पविथ्रा सेठ्ठी एक रनमा आउट भइन् । प्रजना जगदिशा, ओपनर रासिका रोड्रिगो, मनाल मलिक, अबिरा वारिस र सदामली भाक्सलाले खातासम्म खोल्न सकेनन् ।