भारतसँग पराजित हुँदै बाहिरियो नेपाल
![भारतसँग पराजित हुँदै बाहिरियो नेपाल](https://khabarkhurak.com/wp-content/uploads/2023/09/Asian-cup-cricket-Nepal-Vs-india-10-1024x683-1.jpg)
१९ भदौ, काठमाडौं । नेपालले एसिया कप क्रिकेटको समूह चरणको निर्णायक खेलमा राम्रो ब्याटिङ गरे पनि त्यो भारतलाई चुनौती दिन पर्याप्त भएन । फलत: नेपाल विश्व क्रिकेटको शक्ति भारतसँग १० विकेटले पराजित भयो । कप्तान रोहित शर्मा र शुबमन गिलले ब्याटिङबाट भारतलाई सजिलो विजय दिलाए ।
एसिया कपमा नेपालको यो पहिलो सहभागिता थियो । बुधबार प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको नेपाल समूहचरणबाटै बाहिरिएको छ । शनिबार भारत र पाकिस्तानको खेल वर्षाले अवरुद्ध पारेको थियो । पाकिस्तान यसअघि नै सुपर फोरमा पुगिसकेको थियो ।
कुशल र आसिफले १० ओभरभित्र ६५ रन जोडी नेपाललाई दिलाएको सुरुवातमा मध्यक्रमका ब्याटरले इनिङ्स तानेका थिए । कुशलसहित भीम सार्की, कप्तान रोहित पौडेल र कुशल मल्ल छोटो समयमा आउट भए पनि आसिफ शेखले संयमतापूर्वक खेल्दै अर्धशक पूरा गरेका थिए ।
आसिफले ८८ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । उनले ९७ बल खेली ८ चौका प्रहार गर्दै कुल ५८ रन बनाए । मोहम्मद सिराजको बलमा टप एज लागेपछि विराट कोहलीले एक हाते क्याच लिई उनलाई पेभेलियन फर्काएका थिए । कुशल र आसिफ दुवैले १ रनमा जीवनदान पाएका थिए ।कुशल भुर्तेलले २५ बलमा ३८ रन बनाए । अफस्टम्पबाहिर गएको शार्दुल ठाकुरको बलमा छुन खोज्दा विकेटकिपरलाई क्याच दिन पुगेका उनले ३ चौका र २ छक्का प्रहार गरे ।
छैटौं ओभरमा कुशलले सिराजको बलमा गरेको प्रहार मैदानबाहिरको रोड छेउपारि कटेको थियो । ६ रन बनाएपछि कुशलले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो १ हजार रन पूरा गरेका थिए । रोहित र आसिफपछि एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गर्ने उनी तेस्रो खेलाडी हुन् ।
भीम सार्कीले १७ बल खेली ७ रन बनाए । रवीन्द्र जडेजाको बल ड्राइभ गर्न खोज्दा उनी स्टम्पआउट भए । कप्तान रोहित पौडेलले ५ रनमात्र बनाउन सके । जडेजाको बलमा उनले स्लिपमा भारतीय कप्तान रोहित शर्मालाई क्याच दिन पुगे ।कुशल मल्लले पुनः एक पटक निराश बनाए । जडेजाको बलमा उनले २ रनमा मिड अनमा सजिलो क्याच दिए ।गुल्शन झाले ३५ रन बनाउँदै आसिफलाई राम्रो साथ दिए । उनले ३ चौका प्रहार गरेका थिए ।
दीपेन्द्रले पनि उपयोगी २९ रन बनाए । उनले २५ बल खेल्दै ३ चौका प्रहार गरे ।सोमपाल कामीको ४८ रनमा नेपालले २ सय रनको स्कोरलाई पार गरेको थियो । उनले ५६ बल खेली १ चौका तथा पाण्ड्या र सिराजलाई १–१ छक्का प्रहार गरेका थिए ।सन्दीप लामिछाने ९ रनमा रनआउट भए । करण केसी २ रनमा अविजित रहे भने ललित राजवंशी शून्यमा आउट भए । भारतबाट जडेजा र सिराजले ३–३ विकेट लिए ।
जडेजाले १० ओभरमा ४० र सिराजले ९.२ ओभरमा ६१ रन खर्चे । मोहम्मद शामी, पाण्ड्या र शार्दुल ठाकुरको नाममा १–१ विकेट रहयो ।
प्रतिक्रिया दिनुहोस