भारतका पर्यटन व्यवसायीहरु तानसेनमाः बीटुबी सेल्स मिसन कार्यक्रम हुने

खबर खुराक
२० भदौ २०८०

तानसेन, २० भदौ । भगवती जात्राको अवसरमा भारतका विहार र उत्तर प्रदेशका पर्यटन व्यवसायीहरु पाल्पा आइपुगेका छन्। नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् नाट्टा पाल्पा च्याप्टरले आयोजना गरेको कार्यक्रम अन्तर्गत छिमेकी मुलुकका ३० जना पर्यटन व्यवसायी र पत्रकारको टोली पाल्पा आएको हो।

ऐतिहासीक जात्रा अवलोकनका साथै पाल्पामा रहेका विभिन्न पर्यटकीय गन्तव्यको पहिचान र प्रवद्र्धन गर्ने उदेश्यले उत्तर प्रदेश र विहारका पर्यटन व्यवसायीहरुलाई परिचयात्मक यात्राका गराउन लागिएको नाट्टा पाल्पा च्याप्टरका अध्यक्ष राजिवकुमार शाहले जानकारी दिए। यस्तै भारतीय पर्यटन व्यवसायीहरुसँग बीटुबी सेल्स मिसन कार्यक्रम समेत हुने उनले बताए।

भारतीय पर्यटन व्यवसायीहरुलाई बुधबार दिउसो तानसेनमा नाट्टा पाल्पाले स्वागत गरेको थियो। भ्रमणमा सहभागी टुरिजम एशोसिएसन अफ विहारका अध्यक्ष एस के सिन्हाले काठमाडौ र पोखरासँगै अब पाल्पाको पर्यटन प्रवद्र्धनमा पनि आफूहरुले सहयोग गर्ने बताए। “पाल्पामा रिडी, भैरवनाथ लगायतका तिर्थस्थलहरु रहेका छन्। हिल स्टेसनहरु, हिमालका सुन्दर दृष्यहरु हेर्न पाइने प्राकृतिक रुपमा पनि सुन्दर रहिछ।” उनले भने।

भारतीय पर्यटन व्यवसायीहरुले पहिलो दिन भारतीय पर्यटन व्यवसायीहरुलाई बुधबार तानसेन बजारका पुरातात्वीक सम्पदासँगै श्रीनगर र आसपासमा साइटसिन गराइएको नाट्टा पाल्पा च्याप्चरका सचिव शतिसराज शाक्यले बताए। बेलुका भगवती जात्राको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा सहभागी हुँदै छन्।

भोली रणउजेश्वरी भगवती जात्राको अवलोकन गराइने कार्यक्रम छ। तानसेनमा प्रत्येक वर्ष कृष्णाजन्माष्टमीको भोली पल्ट रणोउजेश्वरी भगवतीको जात्रा निकाल्ने गरिन्छ ।
दुई सय वर्ष अघि बुटवलको जितगढीमा उजिरसिंह थापा नेतृत्वको नेपाली सेनाले अंग्रेजलाई पराजित गरेको सम्झनामा त्यतीबेलादेखी भगवती जात्रा निकाल्ने गरिएको हो । भगवती जात्रा पाल्पाको विशेष पर्व समेत हो।

जात्रा अवलोकनपछि भारतीय पर्यटकहरुको रानीमहल र रिडी पुग्नेछन्। शुक्रबार विहान भैरबस्थान हुँदै थाम्केडाँडा, कुहिरेभिर अवलोकन गर्ने कार्यक्रम रहेको छ।