भारतले जित्यो आठौँपटक एसिया कपको उपाधिः श्रीलंकाविरुद्ध कीर्तिमानी

खबर खुराक
३१ भदौ २०८०

काठमाडौं , ३१ भदौ। फाइनलमा घरेलु टिम श्रीलंकालाई १० विकेटले हराउँदै एसिया कप–२०२३ को उपाधि भारतले जितेको छ । भारतले आठौँपटक एसिया कपको उपाधि जितेको हो ।

यसअघि भारतले पछिल्लोपटक सन् २०१८ मा एसिया कपको उपाधि जितेको थियो ।

प्रेमादसा रंगशालामा सम्पन्न खेलमा श्रीलंकाले प्रस्तुत गरेको ५१ रनको सामान्य लक्ष्य भारतले ६.१ ओभरमा विकेट नगुमाई पूरा गर्‍यो ।

कदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो नै भारतले सबैभन्दा कम ओभरमा निकालेको जित हो । यसअघि भारतले सन् २००१ मा केन्याविरुद्ध ११.३ ओभरमा जित निकालेको थियो ।

भारतको जितमा शुभमन गिल र इशान शर्मा क्रमशः २७ र २३ रनमा अविजित रहे ।

त्यसअघि मोहम्मद सिराजले एकदिवसीय अन्तर्राष्ट्रिय करियरकै उत्कृष्ट बलिङ गरेपछि टस जितेर ब्याटिङमा आएको घरेलु टिम १५.२ ओभरमा ५० रनमै समेटिएको थियो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंकाले बनाएको यो अहिलेसम्मकै दोस्रो सबैभन्दा कम योगफल हो ।

यसअघि सन् २०१२ मा दक्षिण अफ्रिकाविरुद्धको खेलमा श्रीलंका ४३ रनमा अल आउट भएको थियो । यस्तै, एसिया कपको फाइनलमा बनेको यो अहिलेसम्मकै सबैभन्दा सानो योगफल हो ।

घरेलु टिमलाई सस्तैमा समेट्न घातक बलिङ गरेका भारतका सिराजले ६ विकेट लिएका थिए । सात ओभर बलिङ गरेका सिराजले एक मेडन राख्दै २१ रन खर्चिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सिराजको यो अहिलेसम्मकै उत्कृष्ट स्पेल हो । यसअघि ३२ रन खर्चेर चार विकेट लिनु नै सिराजको उत्कृष्ट स्पेल थियो ।

श्रीलंकाविरुद्ध सिराजले चौँथो ओभरमा चार, छैटौँ ओभर र १२औँ ओभरमा समान एक विकेट लिएका थिए ।

यसबाहेक, हार्दिक पन्ड्याले तीन विकेट लिँदा जसप्रित बुमराहले एक विकेट लिए ।

भारतीय बलरसामु निरीह देखिएका श्रीलंकाका कुनै पनि ब्याटर खुलेर खेल्न सकेनन् । कुशल मेन्डिसले १७ रन र दुसन हेमान्थाले १३ रन जोड्नु नै श्रीलंकन ब्याटरबाट बनेको दोहोरो अंकको रन बन्यो । श्रीलंकाका चार ब्याटर शून्यमा आउट भएका थिए ।