बर्दियामा एक वर्षमा एक लाख पर्यटक भित्र्याउने लक्ष्यः अभियानमा लाग्न मुख्यमन्त्रीको निर्देशन

खबर खुराक
११ असोज २०८०

नेपालगञ्ज, ११ असोज । लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आगामी वर्ष बर्दियामा एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिन निर्देशन दिएका छन् । ४४ औं विश्व पर्यटन दिवसको अवसरमा बर्दियाको ठाकुरबाबा नगरपालिकाले बुधबार आयोजना गरेको प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले एक लाख पर्यटक भित्र्याउने कार्यक्रमसहितको योजना बनाउन बर्दियाका स्थानीय पालिकाहरुलाई निर्देशन दिएका हुन् । मुख्यमन्त्री चौधरीले भने –‘गत बर्ष २४ हजार ३ सय ३९ पर्यटक बर्दियामा भित्र्याउनुभयो, आगामी एक बर्षमा एक लाख पर्यटक भित्र्याउने अभियानमा लाग्नुहोस् यसको लागि प्रदेश सरकार साथ दिन तयार छ ।’

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न सके मात्र पर्यटन प्रवद्र्धन गर्न सकिने उनको भनाई छ । मुख्यमन्त्री चौधरीले स्थानीय विभिन्न परिकारलाई ब्यवसायसँग जोड्नको लागि सहयोग गर्न प्रदेश सरकार तत्पर रहेको बताए । बाँके र बर्दियामा उत्पादन हुने महुँवाको मदिरालाई ब्रान्डिङ गर्नको लागि अव छिट्टै ठाकुरबाबा नगरपालिकामा ल्याव परीक्षण मेसिन राख्न लागेको मुख्यमन्त्री चौधरीले जानकारी दिए ।

लुम्विनी प्रदेशले आर्थिक समृद्धिको योजनालाई अगाडि सारेको उनले बताए । ‘परिवारका प्रत्येक सदस्यले मासिक २५ देखि ३० हजार कमाउन सक्ने भएपछि मात्र समाज आर्थिक रुपमा समृद्ध हुन्छ,’ मन्त्री चौधरीले भने ‘अवको आर्थिक बृद्धिलाई कसैले रोक्न नसक्ने वातावरण सबैले बनाउनुपर्छ ।’

नेपालगञ्जको जमुनाहा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट धेरै संख्यामा भारतीय पर्यटक भित्र्याउने तयारी सरकारले गरिरहेको मुख्यमन्त्री चौधरीले जानकारी दिए ।

आर्थिक बर्ष २०७९÷०८० मा बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन तथा जंगल सफारीका लागि २४ हजार ३८९ पर्यटक भित्रिएको निकुञ्जले जनाएको छ । त्यस मध्ये १६ हजार ७८६ आन्तरिक पर्यटक रहेको बताईएको छ ।

बर्दियामा बाघ, हात्ती, गैँडा, कृष्णसार लगायतका वन्यजन्तुसँगै प्राकृतिक सौन्दर्य अवलोकन, थारु कला संस्कृतिसँगै होमस्टेहरूमा स्थानीय परिकार खान पाइन्छ । यस्तै ऐतिहासिक ठाकुरद्वारा मन्दिर, केदारेश्वर धाम, कर्णाली चिसापानी पुल, गेरुवा कोठियाघाट पुल, बर्दिया निकुञ्जभित्र जङ्गल वाक, जीप सफारी, ¥याफ्टिङ, क्याम्प्ङि, फिसिङ लगायतका साहसिक पर्यटकीय गतिविधिमा रमाउन सकिन्छ ।

‘पर्यटन र हरित लगानी’ नारा सहित पर्यटन विकास परिषद् लुम्बिनी प्रदेशको प्रवद्र्धन तथा ठाकुरबाबा नगरपालिकाको आयोजनामा दिवस मनाईएको हो । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री, मन्त्रीसहित संघर प्रदेशका अन्य सासंद, बर्दियाका सबै पालिकाका प्रमुख तथा उपप्रमुख, बर्दियासहित लुम्बिनी प्रदेश र भारतको उत्तर प्रदेशका सञ्चारकर्मीलगायतको पनि सहभागिता थियो । दिवसको अवसरमा ठाकुरबाबा नगरपालिकाले स्थानीय विदा समेत दिएकोले ठुलो संख्यामा विद्यार्थी तथा शिक्षकहरुको पनि सहभागिता रहेको थियो ।